भारतमा २५ जना नेपालीको कोरोनाका कारण मृत्युः एनआरएनए

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।
संघद्धारा जारी विज्ञप्ती अनुसार भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टी यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोनो संक्रमणका कारण नेपालमा निधन हुनेहरुको संख्या ५६ जना रहेको छ ।

दोस्रो महामारी आउने सक्ने
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

उद्धार जारी, ३७ हजार ४ सय घर फर्किए
यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन । नेपाली दूतावास, कुटनीतिक नियोग लगायतले गैरआवासीय नेपाली संघ लगायत विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा उद्धारको क्रम जारी छ ।
नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

१८ श्रावण २०७७, आईतवार