
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषि क्षेत्रमा डेढ देखि दुई लाखसम्म व्यक्तिका लागि थप रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको बताएका छन् । उनले कृषि क्षेत्रमा रोजगारी सिर्जना तथा उत्पादन वृद्दिका लागि चक्लावन्दी गरेर व्यवसायीक खेती, बाँझो जमिनको उपयोग लगायत सरकारको प्राथमिकता भएको बताए ।
श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री भुषालले कृषि क्षेत्रको रोजगारीमा आउन चाहनेहरुले परिश्रम भनें गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रको काम गाह्रो नै हुने भन्दै त्यसका लागि तयार भएर मात्र कृषि क्षेत्रको रोजगारी रोज्न आग्रह गरे ।
मन्त्री भुषालले विगतमा जस्तो कुनै एक व्यक्तिले लाभ पाउने खालको अनुदानका पक्षमा आफू नरहेको भन्दै मल, बीऊ, यन्त्र लगायतमा किसानलाई सहयोग गर्ने नीति अख्तियार गरिने बताए । कृषि क्षेत्रको विकासका लागि गरिने काम पालिका र कृषक समूह मार्फत हुने भएका कारण त्यो वास्तविक किसानसम्म पुग्ने र अनुदान सवैले पाउन सक्ने गरी काम भइरहेको उनको भनाई छ । मन्त्री भुषालले साना किसान, मझाला किसान तथा ठूलो व्यवसायीक खेतीमा संलग्नहरुलाई फरक फरक रुपमा सहयोग गरिने भन्दै अनुदानको ७० बर्षे पुरानो तरिका फेर्नुपर्ने आवश्यकता औंल्याए ।
वैदेशिक रोजगारबाट फर्किनेहरु सवै कृषिमा नै संलग्न हुने गरी प्रचार गरिएको भन्दै मन्त्री भुषालले वास्तविकता त्यो नरहेको समेत बताए ।