‘नत्र विदेशमा अलपत्र श्रमिक र तिनका परिवारको आँशु लाग्नेछ’

मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रमका बारेमा सदनमा उठेका प्रश्नको जवाफ दिंदै गर्दा स्वभाविक रुपमा हामी परदेशमा रहेका र स्वदेश फर्किने दिन पर्खेर बसेकाहरुको चासो अलिक बढी नै थियो । विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नुपर्ने दवाववीच रहेको सरकारका प्रधानमन्त्रीले सम्वोधन गर्नेभएपछि उनीहरुका विषयमा पक्कै कुनै सुखद सन्देश आउनेछ भन्ने अपेक्षा हुनु अस्वभाविक भएन ।

प्रधानमन्त्री ओलीले छिमेकीले ताण्डवनृत्य गरिरहेको आफ्नो देशको भूभाग नक्सामा समेट्न जुन साहस गर्नुभयो त्यसको लागी यो पंक्तिकार अत्यन्त शर्षित छ । यो निर्णयले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद धरापमा पर्नसक्छ भन्ने तपाई जति अरु कसलाई थाहा होला र ? त्यहि पनि देशका लागि तपाईले आफ्नो पद तरवारको धारमा राख्नु भएको छ, त्यसैले पुनः एक पटक सम्मान ब्यक्त गर्न चाहन्छु ।

देशको सीमानाका लागि त ऐतिहासिक निर्णय गर्नुभयो तर ६ जेठ, २०७७ को दिन संसदमा नागरिकका लागि आएको तपाईको अभिब्यक्ति अभिभावकको जस्तो भएन । संसदमा तपाईले दिएको अभिब्यक्तिले विदेशमा श्रमरत नेपालीको मुटु छियाछिया बनाएको छ । यो अभिब्यक्ति तपाईको मनै देखि आएको हो वा सल्लाहकारहरुको गलत सल्लाहको परिणाम हो, त्यो त यकिन भएन, तर एउटा अभिभावकको हैसियतले यो अत्यन्तै गैरजिम्मेवार अभिब्यक्ति हो भन्ने हामी प्रवासीलाई लागेको छ ।

हो, सवैलाई थाहा छ विश्व अहिले कोरोना कहरले आक्रान्त छ । विश्वभर छरिएर रहेका नेपाली त्यसबाट अछुतो रहने कुरै भएन । युरोप, अमेरिका लगायतका देशहरुमा कोभिड १९ को प्रभाव बढी भएपनि मध्यपुर्वका खाडी राष्ट्रहरु र मलेसिया लगायतका देशहरु जहाँ नेपाली श्रमिक श्रम बेच्न गएका छन उनिहरु अहिले बढी समस्यामा भएको कुरा तपाईलाई जानकारी भएकै विषय हो भन्ने मेरो अपेक्षा छ । खाना, बासस्थान तथा रोजगारी समेत गुमाएका नेपालीहरुलाई तत्काल उद्दार गर्न आदेश जारी गर्नुपर्ने बेलामा देश भित्रियाउनै सकिदैन भन्ने तपाईको अभिब्यक्तीले कत्तिको मानविय संवेदना बोक्दछ, त्यो तपाई आफैंले मनन गर्नुपर्ने विषय हो ।

समस्याका बारेमा धेरैले बताएका होलान, विदेशमा रहेकालाई ल्याउन सकिदैन, सम्भव छैन, रोग भित्रियाउँछन, त्यसैले तत्काल ल्याउनु हुन्न भनेर सल्लाह सुझाव पनि दिएका होलान् । तपाईले संसदमा भने जस्तै ४० ४५ लाख व्यक्तिलाई कसरी ब्यवस्थापन गर्ने भनेर पनि तर्साए जस्तो लाग्यो । तर यसमा कुनै सत्यता नभएको कुरा कसरी स्वयं प्रधानमन्त्रीले पनि बुझ्न सक्नु भएन, आश्चर्यको विषय हो । प्रधानमन्त्रीज्यू, म यहाँ समस्या मात्रै देखाई रहेको छैन समस्या देखाउने त कामचोरहरुले हो, मैले त समाधानका सम्भावनाहरु औल्याउने कोशिष गरेको छु ।

नेपालीहरु श्रमरत मुलुकहरुमा रोजगारी गुमाएका तथा अन्य विविध समस्याले तत्काल स्वदेश फर्काउनु पर्नेको संख्या १ लाख भन्दा कम छ । आगामी ६ महिना भित्र ५ देखि ७ लाखले रोजगारी गुमाएर स्वदेश फर्कन सक्ने देखिन्छ । त्यसकारण तत्काल १ लाख देखि १ लाख ५० हजारसम्मलाई फर्काउने प्रबन्ध मिलाउनु आवश्यक छ । हो, हामी प्रवासमा रहेकाहरु राम्रोसँग बुझ्दछौं हाम्रो मुलुकको सामथ्र्य । त्यति संख्यामा फर्किनेहरुलाई व्यवस्थापन गर्नपनि त्यति असहज छैन । तर स्वदेश फर्कनलाई अनुमति मात्रै दिए पुग्छ हवाई टिकट सरकारले ब्यहोर्नु पर्दैन । न्यूनतम नाफा लिनेगरी बन्द अवस्थामा पुगेका होटलहरुलाई पे क्वारेन्टाइनमा परिणत गर्दा हुन्छ, होटलको खर्च पनि फर्कने श्रमिकको अवस्थाहेरी उनिहरुबाटै भराउन सकिन्छ, जसले गर्दा राज्यले थप भार व्यहोर्नु पर्दैन । हो अति निम्नस्तरमा रहेका १० देखि १५ प्रतिशतको खर्च सरकारले ब्यहोर्नु पर्ने हुन सक्दछ । त्यसको लागि पनि श्रमिक कै पैसा जम्मा गरेर बनाएको वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहेको कल्याणकारी कोषमा यथेष्ट रकम छ जसको प्रयोग यस्तै समयमा त गर्ने हो । यसले राज्यकोषमा भार पर्दैन । तर सरकारले उद्दारमा जतिजति ढिला गर्छ समस्या उति नै बढ्ने चाहिं निश्चित छ ।

प्रधानमन्त्री ज्यू, दैनिक ४ हजारको दरले श्रमिक ल्याउने हो भने १५ दिनमा ६० हजार लाई ल्याउन सकिन्छ, त्यति क्षमता त काठमाडौमै रहेका होटलहरुलाई ब्यवस्थापन गराउने हो भने अरुतिर टाउको दुखाई रहनै पर्दैन । अनि अर्को कुरा चेक जाँच नगरी श्रमिकले यात्रा गर्न पाउँदैनन, कोरोना पोजेटिभ देखिएमा त झन् उपचार विना फर्कने कुरै भएन । चेकअपमा नेगेटिभ देखिएकाहरुलाई १४ दिन होटलमा पे क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमा क्वारेन्टाइन छोड्नु भन्दा पहिले एकपटक टेष्ट मात्रै गरिदिए राज्यको नागरिक प्रतिको दायित्व पुरा हुनेछ । अनि यो अवस्थामा विदेशमा रहेका आफ्ना नागरीक फिर्ता ल्याउन के कुराले सरकारलाई रोक्यो बुझ्न सकिएन ।

काम गर्नुपर्ने निकायमा रहेकाहरु हातबाँधेर र आँखा चिम्लिएर नबसिदिएको भए हालसम्म १ लाख भन्दा बढी नागरीक आफ्ना घरमा पुगेर सन्तोषको श्वास फेरिरहेका हुने थिए । तर उनीहरु अहिले पनि कहिले घर फर्किने दिन पर्खिरहेका छन् । विदेशमा अप्ठ्यारो अवस्थामा दिन काटिरहेका आफ्ना नागरिक तत्काल उद्दारमा अव ढिला गर्नुहुन्न । नत्र विदेशमा अलपत्र श्रमिक र तिनिहरुको परिवारको आँशु लाग्नेछ प्रधानमन्त्री ज्यू । भोली बाध्यताले पनि ल्याउनै पर्दछ, त्यसैले समय हुँदै ध्यान पुर्याउँ ।

यो पनि पढ्नुहोस् विदेशबाट फर्काईनेको प्राथमिकतामा रोजगारी गुमाएकाहरु, भिजिट भिषामा गएका र श्रम स्वीकृति नलिएकाहरु अन्तिम सूचिमा

७ जेष्ठ २०७७, बुधबार