विदेशबाट फर्काईनेको प्राथमिकतामा रोजगारी गुमाएकाहरु, भिजिट भिषामा गएका र श्रम स्वीकृति नलिएकाहरु अन्तिम सूचिमा

सरकारले कोरोना भाईरस (कोभिड १९) का कारण रोजगारी गुमाएर २ लाख ८० हजारको हाराहारीमा नेपाली स्वदेश फर्किन सक्ने प्राथमिक अनुमान तय गरेको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले पठाएको विवरणलाई आधार मान्दै यस्तो तथ्याँक तयार पारेको हो ।

मन्त्रालय श्रोतका अनुसार सवैभन्दा धेरै साउदी अरवबाट फर्किने सम्भावना छ । त्यहाँ १ लाखले रोजगारी गुमाउन सक्ने अनुमान छ । यसैगरी कतारबाट ७० हजार, युएईबाट ५५ हजार, मलेसियाबाट ३० हजार फर्किन सक्नेछन् । यसैगरी कुवेतबाट १५ हजार, बहराइनबाट ७ हजार तथा ओमानबाट ३ हजार नेपाली रोजगारी गुमाउन सक्ने अनुमान दूतावासहरुले गरेका छन् ।

कोभिड १९ बाहेक भिषाको म्याद सकिएका तथा आममाफी पाएकाहरु थप १ लाख २७ हजार फर्किन सक्ने परराष्ट मन्त्रालयको अनुमान छ । त्यसमध्ये सवैभन्दा धेरै कतारबाट ७५ हजार, साउदी अरेविया २० हजार, युएईबाट १२ हजार फर्किन अनुमान छ । यसैगरी मलेसियाबाट ७ हजार, कुवेतबाट ९ हजार, बहराइबाट ३ हजार ५ सय तथा ओमानबाट ५ सय १ लाख २७ हजार स्वदेश फर्किने अवस्थामा छन् । कोभिडकै कारण रोजगारी गुमाएर फर्किने तथा भिषाको म्याद सकिएर तथा आममाफी पाएर फर्किनेहरु गरी कुल ४ लाख ७ हजार नेपाली स्वदेश फर्किने मन्त्रालयको अनुमान छ ।

यसैबीच कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवार बसेको बैठकले विदेशबाट फर्काउनु पर्नेहरुको व्यवस्थापन लागि कार्यविधि बनाउने निर्णय गरेको छ । सो कार्यविधि मन्त्री परीषदले पारित गर्न पर्नेछ ।

यसैगरी विभिन्न प्रदेशहरुमा समन्वय गर्नका लागि फोकल पर्सन पनि तोकिएका छन् । जसअनुसार प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वागमतिमा महिला बालबालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई फोकल पर्सन तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार नै संसदमा बोल्दै सवै नेपालीलाई तत्काल स्वदेश फर्काउन नसकिने बताएका थिए । उनले विदेशमा ४५ लाख नेपाली रहेको भन्दै उनीहरुलाई एकैपटक ल्याउँदा कोरोना संक्रमण ह्वात्तै बढ्ने र यसले ठूलो जोखिम निम्त्याउने भन्दै प्राथमिकता तोकेर मात्र नेपालीलाई स्वदेश फिर्ता गर्ने बताएका थिए । सो सम्वन्धि समाचार पढ्न यहाँ क्लीक गर्नुहोस् विदेशबाट तत्काल सवै नेपालीलाई ल्याउन सकिन्नः प्रधानमन्त्री ओली

यसैबीच सरकारले वैदेशिक रोजगारमा रहेका तथा नेपाल फर्किन चाहनेहरुको प्राथमिकताको पहिलो खाका तयार पारेको छ । परराष्ट्र मन्त्रालयले तयार पारेको सूचिका विषयमा यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भएको छ । यसैगरी यस विषयमा मन्त्री परीषद बैठकमा पनि छलफल भएको श्रोतले बताएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकाहरु मध्ये श्रम स्वीकृति/करार अवधि समाप्त भएर नेपाल फर्कन तयार भएका तर लकडाउनका कारण विदेशमा बसिरहेकाहरु पहिलो प्राथमिकतामा छन् । यसैगरी नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिई वैदेशिक रोजगारीमा गएका तर करार अवधिभित्र कोरोना महामारीका कारण रोजगारी गुमाई स्वदेश फर्किनेहरुलाई पनि सरकारले प्राथमिकता दिन परराष्ट्र मन्त्रालयले प्रस्ताव गरेको छ ।

त्यसपछि पुनः श्रम स्वीकृति वा वैधानिकीकरण भई वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाई फर्कनेहरु, श्रम स्वीकृति लिएको कम्पनी छाडी अन्यत्र रोजगारमा रही गन्तव्य मुलुकमा गैरकानूनी हैसियतमा रहि फर्कन चाहनेहरु, श्रम स्वीकृति र करारको म्याद समाप्त भई रोजगारदाता मुलुकमा अवैधानिक तवरबाट रोजगारीमा लागि रहेकाहरु र वर्तमान परिस्थितिमा अलपत्र परी वा आममाफीबाट लाभ उठाई स्वदेश फर्किनेहरु रहेका छन् ।

त्यसपछिको प्राथमिकतामा श्रम अवधिभित्र रहेका, रोजगारीमा समस्या नभए तापनि वर्तमान अवस्थामा स्वेच्छाले रोजगारी छोडी स्वदेश फर्कनेहरु रहेका छन् ।

अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली मध्ये अध्ययन प्रयोजनमा विदेशमा बसोवास गरिरहेका नेपाली विद्यार्थीहरु, व्यापार/व्यवसाय वा पारिवारिक भेटघाट वा व्यक्तिगत प्रयासमा रोजगारी प्राप्त गरेका तर श्रम स्वीकृति नलिई विदेशमा बसोवास गरिरहेकाहरु, भिजिट भिसा, इन्र्टन वा अध्ययनको क्रममा गई रोजगारी गरी रहेका तर विद्यमान समस्याका कारण रोजगारी गुमाई वा अलपत्र परी वा सन्त्रासका कारण फर्किनेहरु रहेका छन् ।

यसैगरी रोजगारीको सिलसिलामा भारतमा रहेकाहरु र विद्यमान कोरोना महामारीका कारण रोजगार गुमाई वा त्रासका कारण सुरक्षित हुन नेपाल फर्किनेहरु त्यसपछिको प्राथमिकता सूचिमा रहेका छन् ।

यो पनि पढ्नुहोस् ‘कोरोना विरुद्दको खोप मान्छेमा सफल’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय