सौन्दर्यकर्मी पेशामा कोरोनाको असर र अव गर्नुपर्ने काम

 

संसारमा प्राकृतिक विपत्ति र महामारी बेलाबेलामा आउने गरेका छन् । यसपटकको महामारी कोरोना ( कोभिड (१९) ले संसार गाँजेको छ । यो आलेख तयार पार्दासम्म ३७ लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन् भनें २ लाख ५८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । खुसीको कुरा संक्रमित मध्ये १२ लाख ४२ हजार भन्दा बढी व्यक्ति भनें कोरोनाको संक्रमणलाई जितेर निको भएका छन् । बाँकी संक्रमित मध्ये केवल २ प्रतिशतको मात्र अवस्था जटिल छ, त्यसैले संक्रमित मध्ये ठूलो संख्यामा कोरोनालाई पराजीत गरेर निको हुने अपेक्षा गर्न सकिन्छ ।

हालसम्म कोरोना संक्रमण विरुद्दको न त औषधि तयार भएको छ न त खोप नै विकास भइसकेको छ । त्यसैले भौतिक दूरी कायम गर्नु यसको हालसम्म उपलव्ध एकमात्र विकल्प हो । विश्वका अन्य कतिपय मुलुकहरु जस्तै नेपालमा पनि गत चैत्र ११ गते देखि बन्दाबन्दी चलिरहेको छ । जीवन जोगाउनका लागि आफ्नो पेशा, ब्यवसाय र रोजगारी छोडेर घरमै बस्नु परिरहेको छ । अर्थतन्त्र ठप्प छ, सम्पुर्ण पेशाकर्मी, ब्यवसायीहरू र श्रमिकहरु समस्यामा परेका छन् । सम्पुर्ण क्षेत्रलाई बन्दाबन्दीको अबस्थाले धेरै नै असर पुर्याइरहेको छ । यसको प्रभाव विस्तारैै पर्दै जान थालेको छ । बन्दाबन्दीको समय अन्य पेशा व्यवसाय जस्तै मारमा परेको सेवा क्षेत्रको एक हो सौन्दर्य पेशा पनि ।

सौन्दर्य ब्यवसाय देश भित्रै राम्रो आम्दानीको श्रोत भएको सुरक्षित ब्यवसाय हो । यस पेशाले धेरै महिलालाई आत्मनिर्भर, स्वावलम्वी र कसैको भर पर्नु नपर्ने बनाएको छ । यसले महिलालाई घर ब्यवहारमा पुरूषसँगै काँधमा काँध मिलाई हरेक जिम्मेवारी वहन गर्न सक्ने सक्षम बनाएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध भएको सौन्दर्य पेशा आफैंमा एउटा कला हो । दक्ष सौन्दर्यकर्मीले कलाको माध्यमबाट हरेक ब्यक्तिलाई सुन्दर रूपमा प्रस्तुत गर्नसक्ने सामथ्र्य राख्दछ । आफ्नै दक्षताको आधारमा पेशा ब्यवसाय सञ्चालन गरिरहेका देशैभरिका स्वरोजगार सौन्दर्यकर्मीहरूलाई अहिलेको बन्दाबन्दीले उठ्न मुस्किल अवस्थामा पुर्याएको छ ।

कोरोना महामारीबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने अवस्थामा सैलुनमा सेवा दिने त कुरै आएन र सरकारले आब्हान गरेको बन्दाबन्दीलाई पनि पालना गर्नैपर्यो । तर यो समस्या तत्काल सकिने पनि छाँट छैन । त्यसैले आगामी दिनमा यस क्षेत्रका स्वरोजगार सौन्दर्यकर्मीहरूलाई यसै पेशामा टिकाई राख्न ठूलो चुनौती आईपर्ने देखिन्छ । आर्थिक रुपमा सिमितता सुरु भएपछि दैनिक उपभोग्य वस्तु नै प्राथमिकतामा पर्ने नै भयो । यो पेशा प्रत्येक ब्यक्तिको स्वास्थ्यसँग जोडिएको, ब्यक्तिगत सरसफाईसँग जोडिएको भएतापनि आम नागरिकका वीचमा सौन्दर्यको काम केवल विलाशिताको रुपमा बुझ्ने चलन छ ।

यसैगरी स्वयं सौन्दर्यकर्मीका लागि पनि यो काम आगामी दिनमा यसअगाडीको झैं पूर्ण सुरक्षित छैन । व्यक्तिको नजिकैबाट सेवा दिनुपर्ने भएका कारण स्वास्थ्यका दृष्टिकोणबाट पनि लामो समयसम्म धेरै कुरामा अत्यन्तै सजगता अपनाउनु पर्ने हुन्छ ।
बन्दाबन्दीमा पेशा, ब्यवसाय पुर्णरूपमा बन्द रहेपनि घरभाडा लगायतका नियमित खर्चको भुक्तानी स–सानो पुँजी लगानी गरेर स्वरोजगारमूलक रुपमा कार्यरत सौन्दर्यकर्मीका लागि धान्न मुस्किल विषय हो । त्यसैले देशभित्र सम्मानित रोजगारीको क्षेत्रका रुपमा स्थापित र यस पेशाव्यवसायमा आश्रित झण्डै तीनचार लाख सौन्दर्यकर्मीको पेशा संकटमा देखिन्छ ।

यो अवस्थामा उनीहरुको रोजगारी जोगाउँदै आर्थिक कृयाशिलतामा संलग्न बनाइराख्न सरकारले विभिन्न योजना सहित राहत प्याकेज ल्याउनुपर्ने हुन्छ । यसका लागि हामी सौन्दर्यकर्मीहरु आफैं एकजुट भएर आ–आफ्नो ठाउँबाट संगठित आवाज बनाएर सरकारलाई घच्घच्याउनु पर्दछ । जटिल परिस्थीतिले नै ब्यक्ति, समाज र राष्ट्रमा नयाँ चेतना तथा जागरण पैदा गर्दछ । तसर्थ अधिकतम महिलाहरु संलग्न सौन्दर्य पेशालाई टिकाई राख्न सरकारले सर्वसुलभ, सस्तो ब्याजदरमा ऋण प्रवाह गर्नुपर्ने देखिन्छ । आगामी दिनहरूमा झनै थपिने बेरोजगार समस्या न्यून गर्नका निम्ती पनि सौन्दर्यसँग सम्बन्धित छोटो अवधिका तालिमहरू आयोजना गरी सौन्दर्यकर्मीहरूलाई परिचालन गर्न सकिन्छ । त्यस्तै गरेर हालै मात्र आगामी शैक्षिक सत्र देखि ऐच्छिक बिषयका रूपमा कक्षा ११ र १२ मा पठनपाठन हुनगईरहेको र कक्षा ९ र कक्षा १० मा पनि यस बिषयलाई राख्न पहलकदमी भईरहेको अवस्थामा सौन्दर्य शिक्षामा यो जनशक्तिलाई प्रशिक्षकका रूपमा नियुक्त गरेर हौसला प्रदान गर्न सकिन्छ ।

सौन्दर्यकर्मी आफैं पनि स्वयम् यस पेशालाई ब्यवस्थित र मर्यादित बनाउनका निमित्त जागरूक हुनुपर्दछ । यस क्षेत्रलाई फराकिलो पार्दै सेवाको साथसाथै यसलाई चाहिने सामग्रीहरूको उत्पादन तिर पनि ध्यान दिनुपर्दछ । अहिले बजारमा अन्तराष्ट्रिय ब्राण्डका कस्मेटिक सामग्रीहरूले एकछत्र राज गरेका छन् । हामीले आफ्नै देशको परम्परागत पद्दती प्रयोग गरेर आफनै देशमा उत्पादित जडिबुटीहरू प्रयोग गरेर सौन्दर्य सामग्रीहरू उत्पादन गर्न सक्दछौं । अझै वैज्ञानिक खोज अनुसन्धानमा बाटो खुला गरीदिएर यस कार्यमा सरकारले

सौन्दर्यकर्मीहरूसँग सहकार्य गर्न सक्दछ । उदाहरणका निमित्त हाम्रै गाउँघरमा पाईने घरेलु सामग्रीहरू तुलसी, निम, घ्युकुमारी, बेसार, मह, कागतीबाट पनि सौन्दर्य कायम राख्न सकिन्छ भने हाम्रै आँगनमा पाईने कालीमाटी र लेसीलो माटोबाट मड थेरापी, खोलामा पाईने राम्रा ढुङ्गाबाट स्टोन थेरापी गरी शरीरको नकरात्मक उर्जा हटाउन सकिन्छ । यसरी अर्र्गानिक , आयुर्वेदिक जडिबुटीहरूको उच्चतम् प्रयोग गरी सौन्दर्य प्रशाधनहरू हामी आफैं पनि उत्पादन गरी रोजगारीको बाटोहरू खोल्न सक्दछौं जसका कारणले देशभित्रै रोजगारीहरू सिर्जना हुने र निर्यात प्रवर्दन समेत हुने गरी देशको अर्थतन्त्र सबल बनाउन एक ईट्टा भएपनि थप्न सकिन्छ । यस तर्फ सम्बन्धित सबै पक्षहरू जोश, जाँगर र उत्साहका साथ लाग्न आवश्यक छ ।

यो पनि पढ्नुुहोस् दृढ विश्वास छ कोरोनालाई पराजीत गर्दै हामी छिट्टै नियमित काममा फर्किने छौ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय