अलपत्र नेपाली स्वदेश फर्काउने कार्ययोजना मन्त्रिपरिषदबाट पारित, घर फर्काउने बाटो खुल्यो

कोभिड १९ का कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाईमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने उच्चस्तरीय समितिको कार्ययोजना मन्त्रिपरिषदले स्वीकृत गरेको छ । शनिवार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो कार्ययोजना स्वीकृत गरेको हो । कार्ययोजना स्वीकृत भएसँगै अव नेपालीलाई स्वदेश फर्काउने बाटो खुलेको छ ।

सरकारले गैरकानूनी हैसितमा रहेर गन्तव्य मुलुकका घरफिर्ति केन्द्रमा रहेकाहरु, विदेशमा रहेका नेपाली कुटनीतिक नियोगमा निवेदन दिएका मध्ये रोजगारी गुमेकाहरु, आफन्तको मृत्यु भएका कारण स्वदेश फर्किने पर्खाइमा रहेकाहरु लगायतलाई पहिलो चरणमा स्वदेश फर्काउने तयारी गरेको हो । यसरी फर्काउने काम एक साता देखि १० दिनभित्रमा सुरु हुने अपेक्षा गरिएको छ ।
यसैबीच विदेशस्थित नेपाली फर्काउन गैर आवासिय नेपाली संघ (एनआरएनए) ले सरकारलाई सघाउने भएको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णयलाई स्वागत गर्दै संघले यस्तो निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।

बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेको संघले जनाएको छ ।

यो पनि पढ्नुहोस् कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय २८ पुग्यो, खाडीमा ३३ ले ज्यान गुमाए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय