व्यवसायजन्य दुर्घटनाबाट ज्यान गुमाएकाहरु प्रति सम्झना गरौ, जीवितका लागि संघर्ष गरौं

२८ अप्रिल, अन्तराष्ट्रिय श्रमिक स्मृती दिवस, कार्यथलोमा भएका दुर्घटना, त्यसमा परि मृत्यु भएका र घाइते भई दुःखपुर्ण जीवनयापन गरिरहेका श्रमिकहरुको सम्झनामा मनाइने दिवस । योे दिवस २८ अप्रिलका दिन संसारभरि मनाईन्छ । नेपालमा पनि यो दिवसका दिन विभिन्न ट्रेड यूनियनहरुले र श्रम मन्त्रालयले छुट्टा छुट्टै तथा संयुक्त पनि मनाउँदै आइरहेका छन ।

सरकारले त झन् यो दिवसलाई सुरक्षा सप्ताह दिवसको रुपमा मनाउँदै आएको छ । श्रम कार्यालयहरु र विभागले २८ अप्रिलका दिन विहान देशैभरि श्रमिकहरुको ताँति लगाएर गञ्जी, टोपी र खाजाको प्याकेट बाँडेर धुमधाम गर्छ । हेर्दा लाग्छ आज साँच्चै कुनै पर्व नै आइरहेको छ की ? सहभागी श्रमिकलाई बाँड्ने एउटा गञ्जी, एउटा टोपी र एक पाकेट खाजाको आडमा श्रम विभाग र मातहतका कार्यालयहरुलाई भने दशैं नै आएको प्रतित हुन्छ । सेता सर्ट र निला पैन्टमा सजिएका श्रमका मान्छेहरु भ्याइ नभ्याई, हस्याङ फस्याङ गर्दै भित्र भित्रै मख्ख पर्दै दौडादौड गरेको देख्दा लाग्छ आज वहाँहरुलाई भने पक्कै दशै नै आएछ ।

यो दिवसलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवसका रुपमा पनि मनाउने गरिएको छ । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ । संसारमा प्रत्येक १५ सेकेन्डमा एकजना श्रमिक कार्यथलोमा हुने दुर्घटना वा त्यससँग सम्वन्धित रोगबाट मर्ने गर्दछन् । १ सय ५३ जना श्रमिक कार्यथलोमा हुने दुर्घटनाको शिकार हुने गर्दछन् । प्रत्येक दिन ६ हजार ३ सय मानिस पेशागत दुर्घटना वा कामसँग सम्वन्धित रोगका कारण मर्ने गर्दछन्, प्रतिवर्ष २३ लाख मर्छन् । प्रत्येक बर्ष ३१ करोड ७० लाख कार्यथलोमा दुर्घटना हुने गर्दछ । कम्तिमा १६ करोड श्रमिक व्यवशायजन्य रोगबाट प्रभावित हुने गर्दछन् । यो ठूलो चिन्ताको विषय हो ।

दयनिय आर्थिक अवस्थाका कारण घरबाट टीका लगाएर बिदा भएको छोरो सद्दे नै फर्किन्छ, बैशाखी वा ह्वील चेयरमा बसेर वा बाकसमा फर्किन्छ पत्तो हुन्न । श्रीमान् फर्किने दिन पर्खिरहेकी श्रीमति प्रतिक्षा गर्दा गर्दै बुढी हुन्छे । श्रीमान चाहिं अरबको मरुभूमीमा भेडा गन्दा गन्दै बुढो हुन्छ । कमाउँछु र बाउआमा पाल्छु भनेर मुग्लान भास्सिएकी चेली कुन रुपमा फर्किने हो ठेगान हुन्न ।

३ डिसेम्बर १९८४ मा भारतको भोपाल ग्यास दुर्घटनाबाट १५ हजार श्रमिकको ज्यान गयो, तर सरकारी आँकडाले ३ हजार ७ सय ८७ मात्रै देखायो भने हजारौले आँखाको ज्योती गुमाउनु प¥यो । हजारौ गर्भवती महिलाको गर्भ तुहियो ।

२६ अप्रिल १९८६ का दिन पूर्व सोभियत संघमा भएको चारनोबिल आणबिक दुर्घटनामा तत्कालै ३३ जना श्रमिकले ज्यान गुमाए भने यसको असरबाट लाखौ श्रमिक क्यान्सर जस्ता जघन्य रोगको शिकार हुनुप¥यो । अमेरिकाको वेष्ट भर्जिनियाको कोइलाखानी दुर्घटनाबाट १ सय ८१ जनाले ज्यान गुमाउनु प¥यो । यसैगरी २०६९ भदौ २६ गते पाकिस्तानको कराँची स्थीत अलि ईन्टरप्राइजेज नामको गार्मेन्ट उद्योगमा भएको आगलागीमा परेर २ सय ८९ जना श्रमिकको ज्यान गयो भने भाग्ने क्रममा थिचिएर झण्डै एक सय श्रमिक अपाङ्ग भए ।

यी प्रतिनिधी घटनालाई सुनेर चित्त दुखायौ, श्रद्धाञ्जली प्रकट ग¥यौ । तर आफनै भूमीमा भएका र हुन सक्ने यी र यस्ता घटनाबारे सचेत भएनौ । लुरुलूरु विमानस्थलबाट छोराको बाकस बुझ्दै ग¥यौ । एक्लै हिंडेकी छोरीले ल्याएको बिदेशी नाती च्याप्दै रह्यौ । बिहान सखारै घरबाट गाडी लिएर हिडेको छोरो खोज्न गोताखोर बोकेर त्रिसुली धाउदै ग¥यौ । टिफिनक्यारीमा खाजा हालेर कारखानामा काम गर्न पठाएको श्रीमानको हात खुट्टा गुमेको कथालाई दैबको लीला भनेर रुँदै ह्वील चेयर ठेलेर आँशु बगाइ रह्यौ ।

धन कमाउने उन्मादमा अन्धो बनेकाहरुको लापरवाहिको कारणले भोग्नु परेको पीडालाई सिमित बिमा रकम र क्षतिपूर्तिले न टाल्नै सक्छ न छेक्नै सक्छ । आज यो पीडाले प्रताडितहरुको जीवन नारकिय भएको छ ।

उनीहरुका पक्षमा आवाज उठाउने हामी ट्रेड युनियनहरु रमिते भएका छौ । धन कमाउन पल्केकाहरु, पैसाको लोभमा श्रमिकको जीउ ज्यानको हिसाब किताव नगरी काम अनि काम मात्रै भन्छन् । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको जिम्मा लिएका निकायहरु कार्य क्षेत्रको सुधारमा भन्दा व्यबस्थापकको भेटिमा रमाएर बस्छन । यसरी श्रमिकका समस्या कसरी हुन्छ समाधान ? कसरी बन्छ कार्यक्षेत्र सुरक्षित ?
कसले लिने यो चिन्ता ? कसले गर्ने पहल ? कसरी हुन्छ समस्याको हल ? जता हे¥यो उतै अस्तव्यस्त छ । अनौपचारिक क्षेत्रका यातायात क्षेत्र, निर्माण क्षेत्र, पर्यटन क्षेत्र आज अधिक दुर्घटनाका क्षेत्र भएका छन । कारखानामा सुरक्षा सामग्री छैन । अनुगमन छैन ।

यस्तो अस्तव्यस्त श्रम क्षेत्रलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भनेर निधार कसैले खुम्च्यायो भने त्यो जिफन्टले खुम्च्यायो । र यसको समाधानका लागि दुई कुरा अगाडी बढायो, जसमा पहिलो कार्यक्षेत्रलाई सुरक्षित बनाउनका लागि सबै प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कमिटी निर्माण गरियोस, सवै प्रतिष्ठानमा सुरक्षा तथा स्वास्थ्य सामग्री राखियोस, नियमित तालिमको व्यवस्था गरियोस, नियमित अनुगमनको व्यवस्था गरियोस भनेर माग राख्यो ।

वैदेशिक रोजगारीमा जानु अघि यस किसिमका तालिम दिने, रोजगारीका गन्तव्य मुलुकका श्रम प्रतिष्ठानको अवस्थाको निरीक्षण पश्चात मात्र रोजगार अनुमति दिने व्यवस्था मिलाइयोस भनेर सरकारसँग माग राख्यो । आज कानुनले यी व्यवस्थाहरु प्रत्याभुत गरेको भएपनि कार्यान्वयन तह अभैm फितलो छ । कार्यान्वयन गराउनका लागि जिफन्टले आफनो संरचनामा पनि व्यवशायजन्य सुरक्षा र स्वास्थ्य कमिटी बनाएर परिचालन गर्दै आएको छ भने प्रवासमा जिफन्ट सपोर्ट ग्रुप बनाएर यसैको माध्यमबाट यो काम गर्दै आएको छ ।
दोश्रो भनेको योगदानमा आधारीत सामाजिक सुरक्षा जसलाई श्रमिकको असल साथीका रुपमा लैजान सकिने र यसले गर्दा दुर्घटना र यसपछि अपाङ्ग जीवन बाँच्न बाध्य श्रमिकको समेत हित हुने भएकाले सबै श्रमिकलाई योगदानमा आधारीत सामाजिक सुरक्षामा समावेश गराइयोस भनेर सरकारसँग माग राख्यो र लामो समयको संघर्ष पश्चात २०७५ साल मंसिर ११ गतेबाट यो कार्यक्रम लागु गराउन सफल भयो ।

आज यो कार्यक्रमबाट श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने वातावरण तयार भएको छ ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।

योगदानकर्ता वा योगदानकर्ताकी श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार खर्च, अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा वापतको शुल्क निश्चित सीमाभित्र रहेर पाइन्छ ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा रु एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी हुन्छ । योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लिखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिन्छ । अस्पताल भर्ना हुनु नपर्ने योगदानकर्तालाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’का आधारमा सुविधा वार्षिक रुपमा बढीमा रु २५ हजार प्रदान गरिन्छ ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महीनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइन्छ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिन्छ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एकजनाले मात्र यस्तो सुविधा प्राप्त गर्दछन् ।
रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिशमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले त्यस्तो अवधिमा निजको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामी सुविधाबापत पाउँछन् ।

पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि बाहेक प्रसूति बिदा बस्नु पर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतका हिसाबले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी गर्नुपर्नेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तता बापतको सुविधा प्राप्त गर्नेछन् । योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषबाट पाउछन् ।

दुर्घटनाजन्य सुविधा योगदान गरेकै मितिदेखि लागू हुन्छ भने व्यवसायजन्य रोगको उपचार खर्च योगदान गरेको दुई वर्षपछि मात्र पाइन्छ । रोजगारदाताले तोकेको काम गर्दा वा कार्य समयभित्र भएको वा कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै प्रकारको दुर्घटनालाई रोजगारीजन्य दुर्घटना मानिएको छ ।

रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले रु सात लाखसम्मको मात्र उपचार खर्च व्यहोर्छ । रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउने व्यवस्था छ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएका योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउछन् ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल निजलाई वा निज आफैँ हिडडुुल गर्न नसकेमा निजलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नी निवृत्तिभरण, सन्ततिका लागि शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई सुविधा, अन्तिम संस्कार खर्चबापतको रकम पाइन्छ ।

दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउछन् ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउछन् । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिन्छ ।

योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबु आमा रहेछन् भने निजलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको जीवनकालभर मासिक रुपमा कोषले प्रदान गर्दछ । यदि योगदानकर्ताको बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिन्छ । योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारका लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई रु २५ हजार एकमुष्ठ उपलब्ध गराइन्छ ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम रोजगारदाताका तर्फबाट भएको योगदान समेत र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगलाई १८० महीना १५ वर्षले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सनका रुपमा पाउनेछन् ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ट रुपमा प्रदान गरिन्छ ।

यो कार्यक्रम औपचारीक क्षेत्रमा लागु भएपनि अनौपचारीक क्षेत्रमा लागु हुन बाँकी नै छ । र अनौपचारीक क्षेत्रमा मात्र नभएर प्रवासमा समेत यो कार्यक्रम लागु गराउन सकेमा भोलीका दिनमा श्रम क्षेत्र मर्यादित र सुरक्षित हुने कुरामा दुईमत छैन ।

२०२० अप्रिल २८ विश्वव्यापी कोरोना ( कोभिड १९) को महामारीका बिच परेकाले कुनै औपचारीक कार्यक्रम गरेर मनाउन सकिने कुरो भएन । कोरोनाको महामारीका कारण अव बिश्वव्यापी आर्थिक मन्दी बढ्न गई बेरोजगारी बढ्ने अवस्थालाइ नकार्न सकिंदैन ।

त्यसैले यस वर्षको अप्रिल २८ लाई “कार्यथलोमा महामारीलाई रोकौ” भन्दै मनाउन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आह्वान गरेको छ । व्यवसायजन्य दुर्घटनाबाट ज्यान गुमाएकाहरु प्रति सम्झना गरौ । जीवितका लागि संघर्ष गरौं । आफु पनि बाँचौं अरुलाई पनि बचाऔं । अन्तर्राष्ट्रिय श्रमिक स्मृती दिवश २०७७ को शुभकामना ।
(अर्याल जिफन्ट बागमति प्रदेशका सचिव हुन्)
यो पनि पढ्नुहोस् स्वीकार्य छैैन श्रमिक कटौती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय