जनक चौधरी
वर्तमान समयमा नोभेल कोरोना भाईरस (कोभिड १९) बाट विश्व प्रताडित भईरहेको छ । आधुनिक विश्वको स्तवन्त्र मानव जाति अहिले कल्पना नै नगरेको विपत्तिमा जकडिएको छ । सामाजिक दूरी कायम गरौं, आफु र अरुलाई बचाऔं यो अहिले संसारभरीको अभिव्यक्ति हो ।
विकासको गतिमा तिव्र रुपमा अगाडी बढिरहेको संसार आज लकडाउनका कारण एउटा सानो दायरामा सीमित भएको छ । चन्द्रलोकमा मानव वस्ती बसाउने सपना देखिरहेका देशहरूमा झन् धेरै नागरिक कोरोना भाईरसको संक्रमणबाट पीडित भएका छन् । यसले सामाजिक र आर्थिक वैभवताको कुनै अर्थ नरहेको अवस्था समेत सिर्जना गरिदिएको छ ।
कोभिड १९ का कारण श्रमिकको जीवन कष्टकर भएको छ । तसर्थ दैनिक ज्यालादारी श्रममा संलग्न श्रमिकहरूको जीवनयापनको चिन्ता धेरैले गरिरहेका छन् । वर्तमान समयमा श्रमिकले खेप्नुपरेको समस्या आफैंमा राम्रोे पक्ष नभएपनि श्रमगरी जीवन चलाउने वर्गले भोग्नु परिरहेको समस्याका बारेमा धेरैले चिन्ता र चिन्तन गर्नु सकारात्मक कुरा हो ।
हामी श्रम बजारलाई सन्तुलित, मर्यादित तथा पारदर्शी बनाउनु पर्दछ भन्ने मान्यताकासाथ मानविय विभेदको अन्त्य गर्न श्रमजीवीहरूलाई संगठित, प्रशिक्षित र परिचालित गर्नेहरूले अहिलेको संकटपछि झन् भयानक जोखिम देखिरहेका छौं । यो संकटले समाजको हरेक क्षेत्रमा परिवर्तनसँगै नयाँ संकट निम्त्याउने छ । श्रम बजारमा अब झन् ठूलो समस्या उत्पन्न हुने अड्कल विज्ञहरूले पनि गर्न थालेका छन् ।
संसारभरका श्रमजीवि वर्ग वर्तमान संकटबाट मुक्त भएपछि पनि चरम आर्थिक अभाव र वेरोजगारीको सामना गर्न बाध्य हुने निश्चित छ ।
अहिले संसारका मानिस लकडाउन र कोरोना सर्ने भयको पीडा सहँदै अदृश्य शत्रुसँग संघर्ष गर्दैछन् । र, यो सङ्कटबाट छिटो मुक्ति पाउने कामना सहित आफु सुरक्षित रहेर अरुलाई बचाउन सरकारले जारी गरेको आदेश पालना गर्न सबैसँग आग्रह गरिरहेका छन् । तर जव लकडाउन समाप्त हुने छ, त्यसपछि सहज रूपमा पूर्ववत जीवनमा फर्किन कठिन हुनेछ । यसको केही निश्चित कारण र आधारहरू रहेका छन् ।
अभिलेख कति महत्वपूर्ण रहेछ:
अहिले समाजमा छताछुल्ल भएको बिषय मध्ये एक हो, श्रमिकहरूको पहिचान कसरी गर्ने ? कुन श्रमिक कहाँ कसको काम गर्दछ ? कसरी चिन्ने, राहत कसरी दिने आदि । तर अब प्रश्न उठ्छ यस्तो समस्याको सामना गर्नुपर्ने अवस्था किन आयो ? यसको एउटै कारण हो, स्थानीय पालिकामा श्रम डेक्सको व्यवस्था र श्रमिकहरूको पेशाको आधारमा अभिलेख राख्ने कुरा वेवास्ता गरिनु । समयमै पालिकाहरूमा श्रम डेक्स राखेर श्रमिकहरूको पञ्जीकरण गरिएको भए आजको जस्तो वेहालको अवस्था पक्कै पनि हुने थिएन ।
श्रमिकले भोगेका समस्या र कारण:
नेपाल सरकारले घोषणा गरेको राहत वितरण गरिएको स्थानमा पनि समस्या देखिएको छ । यसको समाधान कसरी गर्ने ? अहिले धेरैजसो निर्माणको काम गर्ने श्रमिक खाद्यन्न र आवासको समस्यामा परेको पाईएको छ । स्थानीय पालिकाले खाद्यान्न उपलब्ध गराएको अवस्थामा पनि पकाउने ग्यास, भाँडाकुँडा, पानी आदिको समस्या देखिएको छ । विशेषगरी लकडाउनका कारण निर्माणको काम बन्द भएपछि टेण्टमा बस्दा यी समस्या उत्पन्न भएका छन् ।
घरबाट टाढा पुगेर काम गर्ने श्रमिकहरूले भोगेका समस्या र शहरमै अस्थायी रुपमा बस्न थालेका श्रमिकहरुले भोगेका समस्याका प्रकृति फरक छन् । यो अवस्थामा खाद्यान्न उपलव्ध गराएर मात्र हुन्न, जीवनयापनका लागि आवश्यक अन्य बस्तुहरुको व्यवस्थापन तर्फ पनि ध्यान दिइनु जरुरी हुन्छ । रोजगारदाताले समयमै श्रमिकको समस्यालाई कसरी हल गर्ने भन्ने विषय व्यवस्थापन नगरेका कारण समस्या अझ पेचिलो बनेको छ ।
अब के गर्ने ?
१. नेपाली श्रम बजारलाई भयावहको अवस्थामा जानबाट रोक्नका लागि समयमै सबै सरोकारवालाहरूको बीचमा संवाद थालिनु पर्दछ । र, चैत महिनाको पारिश्रमिक नेपाल सरकारको निर्णय अनुसार भुक्तानी गरिनु पर्दछ ।
२. औपचारिक श्रम संसारलाई ब्यवस्थित गर्न कामको प्रकार श्रम ऐनमा स्पष्ट गरिएको छ । तर त्यस अनुरुप श्रमिकहरूको अभिलेख राख्ने काम कुनै पनि रोजगारदाताहरूले गरेनन् । अब यसलाई ब्यवस्थित गरिनु पर्दछ ।
– नियमित रोजगारी (निरन्तर भईरहने काम)
– कार्यगत रोजगारी ( निर्धारित काम सकिएपछि रोजगारी समाप्त हुने)
– समयगत रोजगारी ( समयसीमा सकिएपछि रोजगारी सकिने)
– आंशिक समय रोजगारी (अंशिककालिन काम)
– आकस्मिक रोजगारी । (भैपरी आउने काम)
यसो किन गर्ने ?
नेपाल सधैं प्राकृतिक विपत्तिको जोखिमा रहेको देश मध्ये एक हो । यहाँ हरेक वर्ष बाढी, पहिरो भूकम्प जस्ता प्राकृतिक विपद परिरहन्छ । त्यसैले अब कामका आधारमा सबै मानिसहरूको विवरण अभिलेखिकरण गरिनु पर्दछ । यसले बढी जोखिममा पर्न सक्ने समूह वा वर्गको पहिचान गर्न तथा आवश्यकता अनुसार जनशक्तिको परिचालन गरी सहयोग गर्न सजिलो हुनेछ । यसका साथै स्वयं श्रमिकहरुले पनि अव आफूलाई रुपान्तरण गर्न जरुरी छ । यसका लागि श्रमिकहरूले पनि नयाँ सीप र नयाँ कामका लागि तयार रहन आवश्यक छ, किनभने रोजगारीको क्षेत्रमा नयाँ प्रकृतिको संङ्कट र परिवर्तन आउने पक्का छ ।
(चौधरी जिफन्टका महासचिव हुन्)
यो पनि पढ्नुहोस् नेपाल बदल्न यति गर्न सकिन्न र ?