विदेशले सिकायो मेहनत गर्न

कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत भालुफाँटामा स्थानीय युवाले मिलेर व्यावसायिक रूपमा भेडेखुर्सानीको खेती सुरु गरेका छन् । करिब ५५ लाख लगानीमा तीन जना युवा मिलेर नेट हाउसभित्र बेमौसमी भेडेखुर्सानी खेती सुरु गरेका हुन् ।

बुद्ध एग्रो फार्मको नाममा स्थानीय युवा चाँदनी शाही, भरत शाही र टेकबहादुर मगरले संयुक्त लगानीमा उक्त खेती सुरु गरेका छन् ।
बेमौसमी तरकारी खेती उत्पादनका लागि एक बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर भेडेखुर्सानीको खेती सुरु गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गर्दै चिसो हावापानीमा फल्ने भेडेखुर्सानीका बेर्ना नेट हाउस (जाली घर) भित्र टनेलमा हुर्कंदै गरेका छन् । थोपा सिँचाइको समेत व्यवस्था भएको नेट हाउस प्रविधिले वातावरण व्यवस्थापन गर्ने भएकाले भेडेखुर्सानी तराईमा पनि उत्पादन हुने व्यवसायीको भनाइ छ ।

सामान्यतया ९० दिनमा फल्ने भेडेखुर्सानी तराईमा ११० दिनमा फल्ने प्राविधिकले बताएका छन् । भेडेखुर्सानी भारतबाट आयात भइरहेका बेला कैलालीमा तीन जना युवाले गरेको पहलले केही हदसम्म भेडेखुर्सानीमा आत्मनिर्भर हुन सकिने आशा गरिएको छ ।

विराटनगरको प्राविधिकसहितको टोलीले नेट हाउस निर्माण गरेको बताउँदै सञ्चालक मध्येका एक टेकवहादुर मगरले नेट हाउस (जाली घर) निर्माणका लागि ठूलो रकम खर्च भएको बताए । उनले नेट हाउस निर्माणमा ४२ लाख खर्च लागेको र थोपा सिँचाइ जडानमा तीन लाख पचहत्तर हजार लगानी लागेको बताए ।

एक बिघा जमिन बारेर तरकारीलाई हानि पुर्याउने कुनै पनि जीवाणु भित्र प्रवेश गर्न नमिल्ने कीटनाशक जालीले नेट हाउस बनाइएको छ । सञ्चालक मगरले नेट हाउसले पाँच वर्षसम्म काम गर्ने बताउँदै भने अहिले भेडेखुर्सानी लगाएका छौं, यसको बजार पनि राम्रो छ, कम विषादीको प्रयोग गरी एउटा बोटबाट पाँच किलो उत्पादन हुने अपेक्षासहित चार महिनामा तीस क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।

फर्ममा भेडेखुर्सानीका अलवा गोलभेँडा पनि लगाइएको छ । विभिन्न जातका करेला, काँक्रा, लौका, फर्सीलगायतका बेर्ना उत्पादन गरेर बिक्री पनि गरिन्छ । तरकारी उत्पादन सँंगसँंगै लोकल कुखुरासमेत पालन गरिएको सञ्चालक भरत शाहीले बताए । तीन वर्ष इजरायल बसेर आएका शाहीले आफू विदेश बस्दा नेपालमै तरकारी खेती गर्ने सपना बुनेको सुनाए । एक्लै लगानी जुटाउन निकै गाह्रो थियो साथ दिने अरू साथी भेटिएपछि खेती सुरु गरिएको उनले बताए ।

भारतीय बजारबाट कैलालीमा मात्र प्रत्येक महिना १६ हजार मेट्रिक टन तरकारी आयात भएको सरकारी तथ्याङ्क आफूले पाएको बताउँदै सञ्चालक शाहीले भने, युवाले आँट र जाँगर गरेर नेपालकै माटोमा तरकारी उत्पादन गर्न सक्यो भने तरकारीका लागि परनिर्भर हुन नपर्ने स्थिति सिर्जना गर्न सकिन्छ । घोडाघोडी नगरपालिकाको वडा नम्बर १ ले उक्त एग्रो फर्मलाई दुई लाख अनुदान दिएको छ । गोरखापत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय