२३ बर्ष मुनिका तीन युवाको उदाहरणीय व्यवसाय

बिक्की गुप्ता आठ महिना अगाडीसम्म मलेशियाको पेनाङ स्थित टप ग्लोव कम्पनीमा काम गर्दथे । कम्पनीले लगाएको काम जसरी पनि गर्नैपर्ने । काममा थोरैमात्र तलमाथि भए सुपरभाइजरको मनपरी गाली । ‘तेरो बाउको कम्पनी हो ? यहाँ जे भनिन्छ, त्यहि गर्नुपर्दछ’ यस्तो गाली त उनले कति खाए कति । ” उनीहरु हामी काम गर्न जानेहरुलाई गुलाम(दास) जस्तै ठान्छन्, बल्लतल्ल काटेर फर्किएँ”,  मलेशिया बसाई सम्झिंदै उनी भन्छन् “हामी कुरै नबुझि विदेश जान्छौं अनी पछुताउँछौं ।”

मलेशियामा काम गर्दा मासिक १ हजार रिंगिट तलव थियो । त्यो पनि समयमा पाउन मुस्किल । त्यसमाथि कम्पनीले तोकिदिएको क्याण्टिनमै खानुपर्ने बाध्यता । डेढ लाख खर्च गरेर मलेसिया गएका बिक्कीलाई त्यहि लगानी उठाउनै सकस पर्यो । विदेशमा गोता खाइरहेको बेला उनलाई त्यहिबीचमा नेपालबाट मिल्ने साथि रिसाल रमन साहले फोन गरे, ‘आइज स्वदेशमै केहि गरौं’ भन्ने उत्साह सहित । रिसालको प्रस्ताव मरभूमीमा पानी परेजस्तै थियो उनका लागि । त्यसैले दुई वर्ष पूरा हुनासाथ नेपाल फर्केर स्वरोजगार हुने हुटहुटी भयो बिक्कीलाई ।

रिसाल, प्लस टु सकेर बसेका युवा जसलाई नेपालमै केहि गर्नुपर्दछ भन्ने लाग्थ्यो । त्यसैले उनले आफूलाई पनि कमाई हुने र अरुलाई पनि रोजगारी दिन सकिने सानो लगानीको काम के गर्ने होला भन्ने खोजि गरिरहेका थिए । बुझ्दै जाँदा उनले आफ्ना पितापुर्खाले कहिल्यै नगरेको एउटा काममा थोरै लगानीमा राम्रो प्रतिफल हुने देखे । त्यो थियो पुरुषका लागि व्यवस्थीत शैलुन जुन स्वयं उनका लागि भनें नौलो थियो । तर यसमा उनलाई आँट थियो अर्का साथि राजेश ठाकुरको जोसँग काठमाडौंका केहि राम्रा पार्लरमा काम गरेको अनुभव थियो । २३ बर्षे राजेश वीरगञ्ज फर्केर पार्लर खोल्न तयार भएपछि नयाँ व्यवसायको योजना बन्यो तीन युवाको ।

राजेश काठमाडौं बसाई बिट मार्दै वीरगञ्ज फर्किए । उता शैलुन सुरु गर्ने चाँजोपाँजो मिलाइसकेका थिए रिसालले । वीरगञ्जको घण्टाघर नजिकै गत २०७६ जेठ ३ गते सुरु भयो द वियर्ड सप । बिक्कि मलेशियाबाट फर्केर त्यसमै मिसिन आइपुगे ।

रिसालले बाह्य काम हेरे । बिक्कीले आन्तरिक प्रवन्धको । अनी राजेशको सीपले लोभ्याउँदै लग्यो आकर्षक हेयर स्टाइलका पारखीहरुलाई । वीरगञ्जमा छोटो समयमै नाम कमाउन उनीहरुलाई खासै गाह्रो परेन । भारतको पञ्जावबाट समेत तालिम लिएर आएका राजेशको कला राम्रैसँग जम्यो । यहिबीचमा ७ जना कामदार थपिए शैलुनमा । कमाई पनि क्रमशः बढ्दै गयो ।

सुरुमा मासिक २० २५ हजार तलवमा कामदार राखेको द वियर्ड सपले अहिले भनें तरिका फेरेको छ । दिनभरीमा जति कमार्ई हुन्छ, काम गर्ने कामदारको आधा अनी आधा सञ्चालकको । खाना, खाजा सञ्चालकले नै उपलव्ध गराउँछन् । यसले सञ्चालकलाई घाटा भएन, न त कामदारलाई नै । कामदारहरुले पहिले भन्दा बढी कमाउन थालेका छन् किनकी जति बढी काम, उति धेरै कमाई । यसले कामदार सन्तुष्ट छन् । आफ्नो शैलुनमा एकजनाले त मासिक ५० हजार हाराहारी कमाउने गरेको रिसाल बताउँछन् ।

व्यवसाय राम्रैसँग जम्दै गएपछि उनीहरुले गत पुष १८ गते वीरगञ्जमा अर्को पार्लर सुरु गरे पानीटंकीमा । यसलाई उनीहरुले द वियर्ड सप-२ नाम दिएका छन् । अव छिट्टै एउटा शैलुन थपेर तीन पुर्याउने योजना छ उनीहरुको । सँगसँगै कामदार पनि थपिंदै जानेछन् । कामको चाप बढ्दै गएपछि भोलीदेखि दुईजना कामदार थपिंदैछन् ।

तीन युवाले झण्डै १० लाख जति लगानी गरेका छन् यी आधुनिक पार्लर तयार पार्न । केहि ऋण बैंकले पत्यायो, केहि आफन्त र साथिभाइले दिए । कमाई सन्तुष्ट हुने खालकै छ । मासिक ३ लाख जतिको  कारोवार हुन्छ एउटै शैलुनबाट । त्यसबाट कामदारको खर्च, खाना र बसोवासको खर्च हुन्छ । यति हुँदा पनि तीनजनाको लागि राम्रै बचत हुन्छ । दोश्रो शैलुन सुरु भएपछि कमाई पनि बढ्ने आश छ यी युवाको । “अव ऋण तिरिसक्न पाए थप लगानी गरेर व्यवसाय विस्तार गर्न हुन्थ्यो” उमेरले २२ मा हिंड्दै गरेका रिसाल भन्छन् ।

श्रम मन्त्रीको प्रतिवद्धताः तीन महिनामा ६० हजारलाई रोजगारी, थप १ लाखलाई सामाजिक सुरक्षा

राजेशका बाबुआमा उनी सानै हुँदा विते । त्यसैले दुःखसुख हुर्किएका उनले आत्मनिर्भर हुन सिकेको सीपले अहिले स्वरोजगार बनाएको छ । तर रिसाल र बिक्कीका लागि भनें यो काम सजिलो भएन । “मेरो अगाडी त कुरा गर्दैनन् तर पछाडी कुरा काट्नेहरु धेरै छन्” रिसाल भन्छन्, “अरु जातले गर्ने काम गरेको भनेर धेरैले होच्याउने गरेको सुनेको छु ।” तर गरिखान लाज मान्नु हुन्न भन्नेमा स्पष्ट उनलाई परिवारले भनें राम्रो साथ सहयोग दिएका छन् । युएईमा रोजगारी गरेर फर्केका उनका दाजु विशालको स्वदेशमा नै काम गर्न थालेको भाइलाई हौसला छ । बाबुआमाको पनि उत्तिकै साथ छ ।

व्यवसाय विस्तारै स्थापित हुँदै गएपछि प्लस टु सकेका रिसालको अव विविएस भर्ना हुने तयारी छ । ” एक बर्ष व्यवसाय व्यवस्थीत गर्न नै समय लाग्यो” उनी भन्छन् “अव त यो बर्ष ठाकुरराम बहुमुखि क्याम्पसमा विविएस भर्ना भइहाल्ने हो ।”

वैदेशिक रोजगार भोगेर फर्केका बिक्किका लागि त त्यहि मलेशियाको रोजगारी स्वयं एउटा पाठशाला भएको छ स्वदेशमा नै काम गर्नका लागि । उनी भन्छन्ः विदेश जान लागेकाहरुलाई मेरो सल्लाह, हामी त्यहाँ भन्दा धेरै कमाई यहिं गर्न सक्छौं, त्यसैले हाम्फाल्दै विदेश नजाउँ ।

कतिपयलाई हेर्दा सामान्य नै लाग्ला यो काम । तर २३ बर्ष भन्दा कम उमेरका युवाले गरेको यो व्यवसायले उनीहरुलाई मात्र स्वरोजगार बनाएको छैन अरुलाई पनि रोजगारी  सिर्जना हुनु महत्वपूर्ण कुरा हो ।

तीन उत्साहि युवाले सुरु गरेको यो व्यवसायले स्वदेशमा नै काम गरेर राम्रोसँग कमाउन सकिन्छ भन्ने उदाहरण दिएको छ । उनीहरुले आफू मात्र कमाईरहेका छैनन्, ७ जनालाई उचित पारिश्रमिक सहितको रोजगारी दिएका छन् । दुईजना यहि हप्ता देखि थपिंदैछन् । २३ बर्ष नकटेका तीन युवाको सपनाले पखेंटा फिंजाउँदै छ । उनीहरुलाई खाँचो छ त केवल हौसलाको ।

यो पनि पढ्नुहोस् मलेशियामा हराएका चन्द्रमानलाई कहिं देख्नु भएको छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय