विदेश जानेको पासपोर्ट जवर्जस्ती कव्जामा राखेमा मेनपावर कम्पनीको व्यवसाय बन्द हुन्छः महानिर्देशक भुषाल

काठमाडौं, पुष ४-

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले वैदेशिक रोजगारमा जाने कुनै व्यक्तिको राहदानी(पासपोर्ट) कुनै मेनपावर कम्पनीले जवर्जस्ती कव्जामा राखेमा त्यस्ता मेनपावर कम्पनीको व्यवसाय रोकिने चेतावनी दिएका छन् । उनले यो निक्कै ठूलो समस्या रहेको भन्दै समस्यामा परेका व्यक्तिलाई विभागमा जानकारी गराउन पनि आग्रह गरे ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै महानिर्देशक भुषालले वैदेशिक रोजगारका क्रममा समस्यामा परेका व्यक्तिहरुलाई सही ठाउँमा समस्या पुर्याउन र कानूनी कारवाहीका लागि सहयोग गर्न आग्रह पनि गरे । उनले कतिपय व्यक्ति आफूलाई कुनै व्यक्ति वा मेनपावर कम्पनीले ठगि गरेको भनेर विभागसम्म आउने तर विभागका तर्फबाट सम्बन्धीत मेनपावर कम्पनी विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा रहँदा असहयोग गरेर पन्छिने गरेको भन्दै त्यसले गलत काम गर्नेहरुलाई निरुत्साहित गर्न समस्या पर्ने बताए ।

महानिर्देशक भुषालले गल्ती गर्ने व्यवसायीका कार्यालयहरुमा आकस्मिक रुपमा छापा मार्ने काम विभागले गरिरहेको र त्यो जारी नै रहने बताए । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्धितिय उपाध्यक्ष कमलदेव मल्लले विभागले गर्ने अनुगमनलाई सञ्चारमाध्यमले छापा मारेको भनेर गलत रुपमा प्रचार गरेर व्यवसायीलाई आतंकित बनाएको भन्दै आक्रोश पोखेका थिए । त्यसको प्रतिउत्तरमा विभागका महानिर्देशक भुषालले अनुगमन सामान्य रुपमा भइरहेपनि बढी रकम लिनेहरुलाई कानूनी दायरामा ल्याउन विभागले आकस्मिक रुपमा छापा नै मार्ने गरेको बताए । उनले त्यसरी आकस्मिक रुपमा छापा मार्ने कामलाई गोप्य राख्ने गरिएको र सोही कारण नतिजा राम्रो निस्किएको तर्क गरे । कतिपय वैदेशिक रोजगार व्यवसायीले गलत रुपले उठाउने रकमको श्रोत खोज्नु पर्ने भन्ने मागको सन्दर्भमा महानिर्देशक भुषालले त्यसका लागि सरकारका अन्य निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

सो अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले अघिल्लो बर्ष अन्य नीतिगत काम गर्नुपरेका कारण आकर्षक गन्तव्य मुलुकको रोजगारीको सम्भावना खोज्न नसकिएको भन्दै यस बर्ष विशेषगरी महिला लक्षित रोजगारीका क्षेत्र खोजिने बताए । उनले वैदेशिक रोजगारबाट फर्केकाहरुको सीप परिक्षण, युवाका लागि सीप विकास तालिम लगायतमा बोर्डले काम गरिरहेको जानकारी गराए ।

सो अवसरमा अनुसन्धानकर्ता रामेश्वर नेपालले वैदेशिक रोजगारका नाममा धेरै रकम उठाउनेहरुलाई वैदेशिक रोजगार विभागले कानूनी कारवाही गर्न नसकेको बताए । उनले कानूनमा एजेण्ट हटाएपनि धेरै व्यक्तिले अहिले पनि सो काम गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्धितिय उपाध्यक्ष कमलदेव मल्लले व्यवसायीले विना शुल्क कामदार पठाउन नसक्ने भन्दै अन्य मुलुकको अभ्यास पनि हेरिनुपर्ने तर्क गरे । उनले नेपालजस्तै कामदार पठाउने अन्य मुलुकले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था नगरेको भन्दै त्यसको मारमा नेपाली व्यवसायी परिरहेको भन्दै गन्तव्य मुलुकले नेपाली कामदारका लागि कोटा तोक्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । पूर्वाधार तयार नभएसम्म रोजगारदाताले रकम तिर्ने व्यवस्था हुन नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा पत्रकार रुद्र खड्काले वैदेशिक रोजगार विभाग र बोर्डले गर्दै आएका कामको समिक्षा सहित गर्नुपर्ने कामका बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय