पर्यटक भित्रियाउन देश अनुसारको प्याकेज ल्याउन सुझाव

लक्ष्मण सापकोटा, युएई, पौष ३-

नेपाल भ्रमण वर्ष २०२० सफल वनाउनको लागि युएईमा कार्यरत नेपालीहरुले देश अनुसारको भ्रमण प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाली राजदुतावास आवुधावी र नेपाल भ्रमण वर्ष २०२० सचिवालयद्धारा बुधवार आवुधाविमा आयोजित अन्तरक्रियामा सहभागि अधिकाँश व्यक्तिले सवै देशको फरकफरक संस्कृति हुने भएकोले उनीहरुलाई सुहाउँदो प्याकेज ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन ।

छलफलका सहभागिहरुले खाडीका मुलुकमा अधिकाँश मुस्लिम धर्म मान्ने भएकाले हलाल गरिएको मासु, प्रार्थना गर्ने कोठाका साथै मुस्लिम धर्मावलम्वीको लागि सुहाउँदो अन्य कुराहरुको ब्यवस्था गर्न सकेमा खाडी मुलुकबाट पनि पर्यटक भित्रियाउन सकिने सुझाव दिए ।

सुझाव संकलनको लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका उपसचिव राजन पौडेलको नेतृत्वमा आएको टोलीले युएईबाट महत्वपुर्ण सुझावहरु आएकोमा खुसी ब्यक्त गर्दै भ्रमण वर्ष सफल पार्न युएईमा कार्यरत नेपालीबाट साथ सहयोग हुने विश्वास ब्यक्त गरे 

छलफल कार्यक्रमको शुरुवातमा उपसचिव पौडेलले भ्रमण वर्षलाई मध्यनजर गर्दै ठुला होटलहरु सञ्चालनको तयारीमा रहेको साथै गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल पनि चाँडै सञ्चालनमा आउने जानकारी दिए । भ्रमण वर्षकै अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहज होस भन्नका लागि कर्मचारीहरु थप गरी परिचालन गर्न लागिएको र विदेशी नागरिकहरुलाई सद्भावना दुत तोकिएको पनि पौडेलले जानकारी दिए ।

कार्यक्रममा युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले सहभागीले दिएको सुझावको जवाफ दिदै भिसा सहजीकरणको लागि दुतावासले काम गरिरहेको जानकारी दिए । अन्य देशको तुलनामा खाडी मुलुकबाट नेपालमा नगन्य पर्यटक जाने भएकोले उनीहरुलाई सुहाउँदो भ्रमण प्याकेज ल्याउन सके खाडीमुलुकबाट पनि पर्यटकको संख्या बढ्ने उनले विश्वास ब्यक्त गरे । खाडी मुलुकका पर्यटकहरु अन्य देशको तुलनमा खर्च गर्ने खालका भएकोले उनीहरुलाई नेपाल भित्रियाउन सके भ्रमण वर्ष सफल पार्न थप टेवा पुग्ने भन्दै यसमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए । साथै दुवईमा हुन गइरहेको दुवई एक्सपो २०२० लाई अवसरको रुपमा लिदै त्यहाँबाट पनि नेपालमा पर्यटक भित्रियाउन सकिने राजदुत ढकालले जानकारी दिए ।

एनआरएनए युएईको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा युएईमा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: