
काठमाडौं, मंसिर २२-
वैदेशिक रोजगारका लागि युएईमा फ्रिभिसा, फ्रिटिकटको विज्ञापन गरी प्रतिव्यक्ति १ लाख २५ हजारका दरले रकम असुलिरहेको अभियोगमा राजधानीको एक मेनपावर कम्पनीका कर्मचारी रंगेहात फेला परेका छन् । वैदेशिक रोजगार विभागले सिनामंगलस्थीत रसुवा ओभरसिजमा छापामारी दुईजना कामदारसँग रु १ लाख २५ हजार रकम असुलेको अवस्थामा रंगेहात फेला पारेको बताएको छ ।
युएईको दुवईस्थीत एक कम्पनीमा विल्डिङ लेवरको काममा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति १ लाख २५ हजार माग गरिरहेको भनेर केहि व्यक्तिले विभागमा उजुरी दर्ता गरेका थिए । ५ जनाको उजुरीका आधारमा विभागले आकस्मिक अनुगमन टोली खटाएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले जानकारी दिए ।
भुषालका अनुसार विभागको टोली सो मेनपावर कम्पनीको कार्यालयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जीत वहादुर वमजनले योग वहादुर गर्मछानबाट रु ७०,००० र सन्त वहादुर गरञ्जा मगरवाट १ लाख १० हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारिएको थियो । सो क्रममा नगद सहित रंगेहात पक्राउ गरिएको विभागले जनाएको छ । विभागका अनुसार अन्य तीन जनासँग यसभन्दा अगाडी नै जीतवहादुर वमजनले नगद ३५ हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार मेनपावर कम्पनीको कार्यालयमा बोलाएका थिए ।
विभागका महानिर्देशक भुषालका अनुसार रकम लिनको लागि जीत वहादुर वमजनलाई खटाएको सो मेनपावर कम्पनीका सञ्चालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा मेनपावर कम्पनीले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।
विभागको टोलीले पाँचैजना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएको छ । पाँचै जनालाई आगामी वुधवारको टिकट मेनपावर कम्पनीले उपलव्ध गराएको छ । थप अनुसन्धानको लागि रकम वुझ्ने जीतमान र मेनपावर कम्पनीका सञ्चालक लामालाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको महानिर्देशक भुषालले जानकारी दिएका छन् ।