बैदेशिक रोजगारबाट फर्केकालाई ऋण लिन अव सजिलो, मुख्य तीनवटा समस्या सुल्झियो

काठमाडौं, मंसिर ११-

वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमा नै उद्यममा संलग्न गराउने उद्धेश्यले सरकारले अगाडी सारेको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा महत्वपूर्ण संशोधन भएको छ । मन्त्रीपरिषदको गत कात्तिक ३० गतेको बैठकले सहुलियत व्याजमा कर्जा उपलव्ध गराउने कार्यविधिमा संशोधन गरेको हो । यसले वैदेशिक रोजगारबाट फर्केकाहरुले ऋण पाउन झेलिरहेका मुख्य तीनवटा समस्यालाई सम्वोधन गरेको छ ।

संशोधित कार्यविधिले सो सहुलियत व्याज सहितको कर्जा लिन वैदेशिक रोजगारमा जुन काम गरेको हो नेपालमा पनि सोही काम गर्नुपर्ने बाध्यात्मक व्यवस्थामा संशोधन गरेको छ । यसले वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा नै कुनै उद्यम गर्न चाहनेहरुलाई धेरै सहज बनाउने अपेक्षा गरिएको छ । बैदेशिक रोजगारमा रहँदा गरेको कामको सीप प्रमाणिकरण नहुने, रोजगारदाताबाट त्यसको प्रमाणित हुने कुनै कागजात नहुने तथा विदेशमा गरेको काम नेपालमा बजार तथा उपकरणको सम्भाव्यताको हिसावले उपयुक्त नहुँदा धेरै युवाले ऋण लिन चाहेर पनि लिन पाइरहेका छैनन् । तसर्थ कार्यविधिमा गरिएको सो संशोधनले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी सो सहुलियतपूर्ण ऋण लिन यसअघि वैदेशिक रोजगारबाट फर्केको तीन बर्ष नकटेको हुनुपर्ने प्रावधानमा पनि संशोधन भएको छ । यसले सहुलियतपूर्ण ऋण लिन चाहने वैदेशिक रोजगारबाट फर्केकाहरुको दायरा फराकिलो बनाएको छ ।

यसैगरी कार्यविधि संशोधन मार्फत अव वैदेशिक रोजगारबाट फर्केकाहरुले समुह बनाएर पनि प्रतिव्यक्ति अधिकतम १० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरिएको छ । यसअघि समुह मार्फत काम गर्न चाहनेहरुले प्रति समुह अधिकतम १० लाख मात्र ऋण लिन पाउने व्यवस्था थियो । तर कार्यविधि संशोधन मार्फत त्यस्तो समुह बनाउनेहरुले समुहका प्रति सदस्य अधिकतम १० लाखसम्म सहुलितपूर्ण व्याज सहितको ऋण लिन सक्नेछन् । यसले वैदेशिक रोजगारबाट फर्केर सामुहिक रुपमा काम गर्न चाहनेहरुका लागि सहजता दिएको छ ।

कार्यविधिमा गरिएको संशोधनले अव वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियपूर्ण व्याज अनुदान सहितको ऋण लिन सहज हुने रिटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले बताए । उनले यूवा ईमान्दार हुनुपर्ने भन्दै सहुलियत व्याज सहितको ऋण प्रवाह गर्न बैंकहरु पनि प्रतिवद्ध भएमा ऋण लिन कुनै कानूनी झण्झट नहुने धारणा राखे । राष्ट्रिय युवा परिषदको नेतृत्वमा सो संस्थाले यसअघि कार्यविधि संशोधन हुनुपर्ने माग सहित अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गर्दै आएको थियो । 

यसैवीच वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियतपूर्ण व्याज सहितको ऋण उपवलव्ध गराउन कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक सहमत भएका छन् । तीनवटा बैंक तथा राष्ट्रिय यूवा परिषदवीच यससम्वन्धमा बुधवार हस्ताक्षर भयो । सहमति अनुसार परिषदले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई तालिम दिने र त्यस्तो तालिम प्राप्त व्यक्तिलाई ति वैंकहरुले प्राथमिकताका साथ ऋण प्रवाह गर्ने सहमति भएको छ ।

सहुलियतपूर्ण व्याज अनुदान सम्वन्धी कार्यविधि अनुसार वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै उद्यम गर्न चाहनेलाई आफूले लिएको अधिकतम १० लाखसम्मको ऋणमा लाग्ने व्याज मध्ये सरकारले ५ प्रतिशत दिने व्यवस्था गरेको छ । सो ऋण लिन ईच्छुक झण्डै १८ हजार व्यक्तिले यसअघि वैदेशिक रोजगार बोर्डको सचिवालयमा आवेदन दिएका थिए । सचिवालयले ति व्यक्तिको सूचि तयार पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालयका साथै विभिन्न बैंकहरुलाई उपलव्ध गराएको थियो ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: