वैदेशिक रोजगार क्षेत्रको चर्को विकृति रोक्न सरकार प्रयत्नशीलः मन्त्री ज्ञवाली

काठमाडौं, मंसिर ३-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारमा पठाउने नाममा अति नै चर्को विकृति रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । उनले कतिपयले कतार, मलेसिया जस्ता मुलुकमा रोजगारीका लागि जान ३ लाखसम्म तिर्नुपरिरहेको भन्दै स्वच्छ भर्ना हुनुपर्ने र त्यसका लागि सरकारले शुन्य लागतको नीति लिएको बताए । उनले कामदारको भर्ना वापतको सम्पूर्ण लागत खर्च रोजगारदाताले उपलव्ध गराउनुपर्ने सरकारको नीति रहेको भन्दै त्यसलाई कडाईपूर्वक पालना गराउन सरकार लागि परेको बताए ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) द्धारा आयोजित उच्चस्तरीय नीति सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा जाने कामदार गन्तव्य मुलुकमा पुगिसकेपछि पनि संरक्षित हुनुपर्ने भन्दै यो स्वदेशी कामदार, यो विदेशी कामदार भनेर ज्याला, वीमा, मर्यादित काम र कार्यथलोमा विभेद गर्न नपाइने बताए । उनले त्यसो हुन नदिने सरकारले कुटनीतिक नियोग मार्फत पहल गरिरहेको धारणा राखे । अझै पनि धेरै मुलुकहरुसँग श्रम सम्झौता हुन बाँकी नै रहेका कारण पनि कतिपय समस्या देखिएको भन्दै यसअघि गरिएका कतिपय मुलुकसँगको श्रम सम्झौता पुरानो भइसकेको र कतिपय मुलुकमा त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक देखिएकाले सरकारले सोही अनुरुप काम गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले बाध्यताको वैदेशिक रोजगारलाई अन्त्य गर्दै स्वदेशमा नै रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले सरकारले बाध्यताको बैदेशिक रोजगारलाई बढ्न नदिई स्थीर राख्दै देशभित्रै रोजगारीका अवसर बृद्धि गरेर १० बर्षभित्रमा बाध्यताको बैदेशिक रोजगार अन्त्य गर्नेगरी सरकारले नीति बनाएको बताए ।

गतवर्ष मलेसिया जाने नेपालीको संख्या ३७ प्रतिशत घटेपनि रेमिट्यान्स चाहिं नघटेको भन्दै अव मलेसियाको ढोका खुलेको तथा अन्य गन्तव्यहरु थपिएपनि सरकारको लक्ष्य भनें स्वदेशको रोजगारी वृद्धि नै भएको उनको भनाई थियो । मन्त्री ज्ञवालीले नेपाली वैदेशिक रोजगारमा जाने क्रम उच्च विन्दुमा पुगेर त्यसमा स्थीरता आई क्रमशः घट्न थालेको भन्दै यो घटाउनै पर्ने धारणा राखे ।

मन्त्री ज्ञवालीले श्रम कुटनीतिमा नेपालले मुख्य चारवटा तहमा यसलाई हेर्ने गरेको बताए । उनले संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय श्रम संगठन जस्ता निकाय मार्फत गर्ने कार्य, वैदेशिक रोजगारलाई व्यवस्थीत गर्ने क्षेत्रमा कार्यरत विभिन्न अन्तराष्ट्रिय संघसंस्थासँगको सहकार्यका साथै गन्तव्य मुलुकहरुसँगको द्धिपक्षिय वार्ता तथा आन्तरिक रोजगारी वृद्धि र युवाको सीप विकास सरकारले प्राथमिकता दिएका मुख्य चारवटा काम भएको बताए ।

मन्त्री ज्ञवालीले हाल नेपालका विभिन्न मुलुकस्थीत ३० वटा दूतावास, ३ वटा कुटनीतिक नियोग, ६ वटा महावाणिज्य दूतावास तथा ७१ जना अवैतनिक महावाणिज्य दूत मार्फत नेपालले आफ्ना नागरिकको सुरक्षा, समान अवसर तथा कुटनीतिक कार्यलाई जारी राखेको बताए ।

कार्यक्रममा जिफन्टका देशभरीबाट आएका २ सय भन्दा धेरै अगुवा नेता, कार्यकर्ता सहभागि थिए । समसामयिक राजनीतिक, आर्थिक, कुटनीतिक तथा सामाजिक अवस्थाका बारेमा जिफन्टका अगुवा नेता कार्यकर्तालाई अवगत गराउन आयोजित सो नीति सम्मेलन दुई दिनसम्म चलेको थियो ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारमा रहँदा मृगौला जोगाउन यी कुरामा ध्यान दिउँ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: