युवाको रुचि अनुसारको रोजगारी सिर्जना, सरकारको प्राथमिकताः मन्त्री विष्ट 

काठमाडौं, मंसीर १-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम बजारको विस्तार तथा युवाको रुचि अनुसारको रोजगारी सिर्जना गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका छन् । उनले बाध्यताको वैदेशिक रोजगारलाई अन्त्य गर्दै त्यसलाई रोजाईको मात्र बनाउन सरकारले चाहिरहेको बताए ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) द्धारा आयोजित उच्चस्तरीय नीति सम्मेलनमा बोल्दै मन्त्री विष्टले श्रम बजार र नेपाली युवा जनशक्तिको सीपबीच तादात्म्यता नमिलेका कारण पनि विदेशी श्रमिकले नेपालमा काम गरिरहेको तर नेपाली भनें वैदेशिक रोजगारमा गइरहेको बताए । नेपालमा अहिले पनि भारत, बंगलादेश लगायत विभिन्न मुलुकका ५ लाख भन्दा बढी विदेशी नागरिकले रोजगारी गरिरहेका छन्मन्त्री विष्टले भने, “यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गदै नेपालीलाई स्वदेशको रोजगारीमा पनि आकर्षित गर्न आवश्यक छ ।

मन्त्री विष्टले नेपालमा हाल रोजगारी गर्नेहरुको मासिक सरदर आम्दानी २१ हजार रहेको र वैदेशिक रोजगारमा गएकाहरुको मासिक सरदर आम्दानी ३३ हजार रहेको भन्दै लाखौं खर्च गरेर विभिन्न चरणमा ठगिंदै जानुको साटो स्वदेशको रोजगारीमा ध्यान दिन आग्रह पनि गरे ।

मन्त्री विष्टले वर्तमान सरकारको प्रमुख ध्यान स्वदेशमा नै रोजगारी सिर्जनामा रहेको भन्दै त्यसका लागि एकातिर बेरोजगारहरुको तथ्याङ्क संकलन गर्ने र अर्कोतर्फ सम्भावित रोजगारीका क्षेत्रहरु पहिचान गर्ने काम चलिरहेको बताए । उनले देशभरका पालिकामा रहेका रोजगार सुचना केन्द्रहरुमा हालसम्म १७ लाख व्यक्तिले आफू बेरोजगार भएको भन्दै निवेदन दिएको भन्दै त्यसमध्ये साँच्चै बेरोजगार रहेका व्यक्तिहरुको पहिचान गर्ने, उनीहरुको सीप, दक्षता र शैक्षिक अवस्था पत्ता लगाउने काम भइरहेको जानकारी दिए ।

यसैगरी सरकारले सुचना प्रविधि, कृषि, सहकारी लगायत विभिन्न क्षेत्रमा वृद्धि हुनसक्ने रोजगारीको अध्ययन गर्दै रोजगारी सिर्जनाका लागि सरकारले गर्नसक्ने कार्यका बारेमा अध्ययन पनि भइरहेको जानकारी दिए । उनले सरकारले थप ५ लाख रोजगारी सिर्जनाको लक्ष्य अनुरुप काम गरिरहेको पनि जानकारी दिए ।

 

मन्त्री विष्टले प्रविधिमा जुन रुपमा परिवर्तन भइरहेको छ, त्यसको प्रक्षेपण गर्दै सो अनुरुपको जनशक्ति विकास गर्न आवश्यक रहेको र त्यसो भएमा मात्र नेपालले जनशक्ति विकास श्रम बजारको आवश्यकता अनुसार हुने र रोजगारी सिर्जना हुने धारणा राखे ।

मन्त्री विष्टले विश्वमा प्रविधिले रोजगारीका धेरै क्षेत्रलाई परिवर्तन गर्दै लगेको भन्दै सो अनुरुप नेपाली युवालाई विकास गर्न, सीपयुक्त बनाउन आवश्यक रहेको र उनीहरुलाई श्रम बजारसँग जोड्ने काममा वर्तमान सरकार सजग रहेको बताए ।

जिफन्टका देशभरीका अगुवा नेता कार्यकर्ता सहभागि नीति सम्मेलनमा बोल्दै मन्त्री विष्टले हाल नेपालमा प्रतिवर्ष ५ लाखको हाराहारीमा युवा श्रम बजारमा प्रवेश गर्ने तर उपलव्ध रोजगारी सरदर १ लाख ५० हजार देखि १ लाख ८५ हजारसम्म रहेको तथ्याँक प्रस्तुत गरे । उनले बाँकी जनशक्तिलाई नेपालमा नै काम गर्ने अवसर नभएका कारण उनीहरु या त कृषिमा संलग्न हुने वा मौषमी रोजगारीमा रहने वा बाध्यतापूर्वक वैदेशिक रोजगारमा जाने गरेको बताए । त्यसैले रोजगारी सिर्जना वर्तमान सरकारले प्राथमिकताका साथ अगाडि बढाएको र श्रम मन्त्रालयले त्यहि अनुसार काम गरिरहेको जानकारी गराए ।

 

नेपालमा हाल जनसाँख्यिक रुपमा हेर्दा १५ देखि २४ बर्षको उमेर समुहका व्यक्ति ३४ प्रतिशत रहेको र सो जनसंख्या नेपालको दिर्घकालिन विकासका लागि ठूलो अवसर रहेको भन्दै मन्त्री विष्टले सन् २०३० सम्ममा सो उमेर समुह २५ प्रतिशतमा घट्ने भन्दै समय हुँदै सो युवा जनशक्ति परिचालन गरि मुलुकको विकास गर्नुपर्ने धारणा राखे । हामीले युवा जनशक्तिलाई देश विकासमा लगाउन सक्नु पर्दछ जसका लागि उनीहरुलाई रोजगारी, उद्यम मार्फत श्रम बजारसँग जोड्नु पर्दछमन्त्री विष्टले भने ।

मन्त्री विष्टले अल्पकालिन रोजगारी गरिरहेकाहरु वा बेरोजगारहरुलाई नियमित रोजगारी प्राप्त हुने अवस्थाको श्रमिकमा रुपान्तरण गर्न चुनौतिपूर्ण रहेको भन्दै सरकारले त्यसका लागि प्रयत्न गरिरहेको न्यूनतम ज्याला प्राप्त हुने अवस्था निर्माण र सामाजिक सुरक्षाले संरक्षित बनाउन खोजिरहेको बताए । उनले सामाजिक सुरक्षाको दायरामा श्रमिकलाई ल्याउन सरकारले पहल, प्रयत्न गरिरहेको भन्दै सरकारी, नीति क्षेत्र र सहकारी क्षेत्रमा रोजगारी वृद्धि गर्दै तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ व्यवस्थीत गर्दै अगाडी बढाइने स्पष्ट पारे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: