त्रिभुवन विश्वविद्यालयले लेवर स्टडीजमा स्नातकोत्तरको पढाई सुरु गर्ने

काठमाडौं, कात्तिक ४-

त्रिभुवन विश्व विद्यालयले आगामी शैक्षिक सत्र देखि स्नातकोत्तर तहमा लेवर स्टडीज(श्रम अध्ययन) को अध्यापन सुरु गर्ने भएको छ । यसका लागि पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल ट्रेड यूनियन महासंघद्धारा आयोजित कार्यक्रममा यस बारेमा जानकारी दिइएको हो । त्रिविका तर्फबाट पाठ्यक्रम निर्माण समितिका संयोजक प्रा. केशव अधिकारीले त्रिविले एक साताभित्रै नयाँ पाठ्यक्रम स्वीकृत गर्ने र आगामी वर्षदेखि पढाई सुरु गर्ने तयारी गरेको जानकारी दिए । उनले त्रिविको डीन कार्यालयले पाठ्यक्रम आगामी हप्ता नै पारीत गर्ने अपेक्षा गरिएको बताए । 

प्रा. अधिकारीका अनुसार पाठ्यक्रमलाई वर्तमान आवश्यकता सुहाउँदो बनाउन सैद्धान्तिक र व्यवहारिक अभ्यासलाई उत्तिकै महत्व दिइएको छ । यसका लागि पहिलो र दोश्रो सेमेष्टरलाई बढी सैद्धान्तिक र तेश्रो तथा चौथो सेमेष्टरलाई अभ्यासमूलक बनाइएको छ । उनले हाल चार सेमेष्टरमा गरी १९ वटा पेपर तयार पारिएको र यसलाई बृद्धि गरेर २५ वटासम्म पुर्याउन सकिने पनि बताए ।

 

सो अवसरमा बोल्दै ट्रेड यूनियन पोलिसी ईन्ष्टिच्यूटकी अध्यक्ष डा. विन्दा पाण्डेले स्नातकोत्तर तहबाट सुरु हुने पढाई विस्तारै स्नातक तह हुँदै तल्लो तहसम्म पुग्ने अपेक्षा प्रकट गरिन् । उनले श्रमको संसारलाई कसरी बुझ्ने र श्रम प्रतिको दृष्टिकोण बदल्न पनि विद्यालय तहबाट नै श्रम सम्वद्ध शिक्षा आवश्यक रहेको धारणा राखिन् ।

साँसद समेत रहेकी पाण्डेले त्रिविका १७/१८ जना प्राध्यापकहरुले लामो समयको मेहनत पश्चात पाठ्यक्रमको खाका तयार गरेको जानकारी दिईन् । उनले विश्वका अन्यत्रका अनुभव समेत समेटेर पाठ्यक्रम तयार भएको भन्दै यसमा उद्यमीको क्षेत्रबाट प्राप्त प्रतिवद्धता पनि सकारात्मक रहेको बताइन् । 

यसैगरी पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले पाठ्यक्रमलाई बढीभन्दा बढी विद्यार्थीकै सहभागितामा सिक्ने खालको बनाउन जोड दिए । उनले पछिल्लो समयमा सामाजिक विज्ञानका विषयहरुमा विद्यार्थीको आकर्षण कम भएको भन्दै यसलाई आकर्षक बनाउन अझ बढी मेहनतको खाँचो रहेको धारणा राखे । 

महानिर्देशक पौडेलले पाठ्यक्रम विकास केन्द्रले पनि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिरहेको भन्दै श्रम प्रति सकारात्मक दृष्टिकोण निर्माणका विषयहरु समेटिने जानकारी गराए । 

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले विद्यमान श्रम संसारमा देखा परेको समस्या समाधान सहज रुपमा गर्न, समस्या आउनै नदिन तथा नेपाली श्रमिकलाई मर्यादित कामको खोजीमा विदेश पलायनको अवस्था न्यूनिकरणका लागि नेपाली श्रमिकको दक्षता अभिवृद्धिमा जोड दिए । उनले यसका लागि विद्यालय देखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा श्रमको विषय समावेश गर्ने बारेमा विगतदेखि नै जिफन्टले प्रयत्न  गर्दै आएको स्मरण गरे । सोही प्रयत्नका आधारमा त्रिविले मानविकी संकाय अन्तर्गत छुट्टै विभागको स्थापना गरी स्नातकोत्तर तहमा पठनपाठन सुरु गर्ने तयारी गरेको र त्यसमा जिफन्ट सहयोगी बन्न पाएकोमा खुशी प्रकट गरे ।

अध्यक्ष श्रेष्ठले आगामी शैक्षिक सत्रदेखि सुरु हुने स्नातकोत्तर तहको अध्यापनले नीजि क्षेत्रले योग्य जनशक्ति प्राप्त गर्ने अपेक्षा गर्दै ट्रेड यूनियनले पनि सोही अनुरुपमा सदस्य बनाउन सक्ने धारणा राखे ।

कार्यक्रममा हालसम्मको प्रगति र अपेक्षाका बारेमा चर्चा गर्दै जिफन्ट अर्गनाईजिङ एकेडेमीका अध्यक्ष समेत रहेका त्रिविका अर्थशास्त्र विषयका प्राध्यापक उमेश उपाध्यायले श्रम अध्ययनको अध्यापनले श्रम क्षेत्र प्रतिको दृष्टिकोणमा बदलाव आउने अपेक्षा प्रकट गरे । उनले यसले श्रमिक र रोजगारदातावीच आपसी सम्वन्ध राम्रो बनाउने तथा व्यवसायीक वातावरण तयार गर्ने धारणा राखे । 

यसका लागि विश्वविद्यालयले भौतिक पूर्वाधार तथा मानविय जनशक्ति तयार पार्ने, सरकारले भौतिक पूर्वाधार विकासमा सघाउनु पर्ने, आर्थिक सहयोग गर्नुपर्ने, रोजगारदाताहरुले विद्यार्थीहरुलाई अभ्यास गर्ने अवसर र रोजगारी दिनुपर्ने उपाध्यायले धारणा राखे । यसैगरी ट्रेड यूनियनहरुले विश्वविद्यालय र श्रमिकलाई एकापसमा जोड्ने काम गर्नुपर्ने, अनुसन्धान गर्ने निकाय तथा व्यक्तिहरुले अध्ययन मार्फत सहयोग गर्न सक्ने भन्दै सञ्चार क्षेत्रले यसका बारेमा प्रचारप्रसार गरी सहयोग गर्ने अपेक्षा पनि प्रकट गरे ।     

कार्यक्रममा आइएलओ नेपालका कन्ट्री डाइरेक्टर रिचर्ड हावर्डले विश्वविद्यालय तहमा पढाई सुरु हुने लेवर स्टडीजले मर्यादित कामको वातावरण निर्माणमा सहयोग गर्ने आशा प्रकट गरे। उनले नेपालमा राजनीतिक नेतृत्व अत्यन्त सकारात्मक रहेको भन्दै टे«ड यूनियनको साझा मञ्चले पनि महत्वपूर्ण परिवर्तनका लागि सहयोग पुगेको विचार प्रकट गरे । उनले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐनका बारेमा श्रमिक र रोजगारदाताले राम्रोसँग बुझेको भन्दै नेपालमा प्राप्त उपलव्धी दक्षिण एसियामा नै उदाहरणीय रहेको धारणा राखे । 

कार्यक्रममा रोजगारदाताहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका ईश्वर श्रेष्ठ, सिएनआईका मेघनाथ न्यौपाने, साना तथा घरेलु उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह लगायतले श्रम क्षेत्र केन्द्रीत विषयमा पढाई सुरु गर्ने तयारीको प्रशंसा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: