काठमाडौं, भदौ १९-
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको सुनिश्चित गर्न सघन अनुगमन गरिने बताएका छन् । यसका लागि श्रम अडिट गर्ने प्रावधानको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री विष्टले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिक सम्बन्धी विभेद अन्त्य गर्न पनि गम्भिरताका साथ लाग्नुपर्नेमा पनि जोड दिए । यसैगरी उनले श्रमिकको रूपमा विदेशिने नेपाली नागरिकका हक, अधिकार एवम् सुरक्षाको विषयमा अधिकतम ध्यान दिनुपर्नेमा आफू प्रतिवद्ध रहेको बताए । नेपाली श्रमिकहरूको हित विपरित हुनेगरी कुनै सम्झौता नगरिने पनि उनले प्रतिवद्धता जनाए ।
श्रम कानूनका प्रावधानको प्रभावकारी कार्यान्वयन गरी श्रमिकका गुनासा यथाशीघ्र सम्बोधन गर्न नीतिगत, कानूनी, संस्थागत लगायत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा थप सुधार गर्न पनि उनले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।
सरकार, रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधिहरू सदस्य रहेको परिषद्को बैठकमा व्यवसायिक तथा सीपमूलक तालिमलाई एकीकृत नीति र संरचनाभित्र सञ्चालन गर्ने, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ तथा एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमा लगायतका विषयमा छलफल भएको थियो । यसैगरी बैठकमा अन्तराष्ट्रिय श्रम संगठनको गत जेठ आषाढमा सम्पन्न १०८ औं सम्मेलन तथा शतवार्षिकी समारोहमा नेपालको सहभागिताको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालले अनुमोदन गरेका तथा अनुमोदन नगरेका अन्तर्रा्ष्ट्रिय श्रम संगठनका महासन्धीहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्रा्ष्ट्रिय श्रम संगठनमा पठाउनुपर्ने प्रतिवेदनका विषयमा छलफल भएको जनाइएको छ ।
