
क्वालालम्पुर, भदौ ३-
मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई सामान्य जरिवाना तिराएर घर फर्काउने गुड फर व्याक कार्यक्रमसँगै प्रहरीले धरपकड पनि तिव्र बनाएको छ । मलेशियाका विभिन्न शहरहरुमा प्रहरीको व्यापक खोजतलाश सुरु भएको छ ।
प्रहरीको खोजतलाश कार्यक्रम अन्तर्गत एकै दिनमा अवैधानिक रुपमा बस्दै आएका १ सय ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी पक्राउ पर्नेहरुमा ५ जना नेपाली सहित ४३ जना म्यानमार, ३२ जना वंगलादेश, १२ जना भारत, ९ जना ईण्डोनेशिया, २ जना नाइजेरिया, २ जना श्रीलंका तथा एक जना पाकिस्तानी नागरिक रहेका छन् ।
प्रहरीका अनुसार सो अभियान क्वालालम्पुरका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको थियो । २ सय ८ जनाको चेकजाँचका क्रममा १ सय ६ जनासँग वैधानिक रुपमा बसोवासको अनुमति नभएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश जारी रहने जनाएको छ ।
यसैवीच मलेशियाले ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किन दिनेगरी सुरु गरेको व्याक फर गुड कार्यक्रममा नेपालीहरु उल्लेख्य संख्यामा सहभागि हुन थालेका छन् । यसका लागि दूतावासले फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ ।
यसअघिका वर्षमा आममाफी कार्यक्रम घोषणा हुँदा धेरै दलालहरुले त्यसरी नेपाल फर्किन चाहनेहरुसँग हजारौं रकम उठाउने गुनासो आउने गरेको थियो । त्यसैले दूतावासले यसवर्ष आफैंले फर्म भरिदिने, अध्यागमन कार्यालयसम्म लैजाने र फिर्ता ल्याइदिने व्यवस्था मिलाएको छ । यसैगरी कुनै पनि अन्य व्यक्तिलाई स्वदेश पठाइदिने नाममा कुनै रकम नदिन र त्यस्ता व्यक्ति मार्फत प्रकृया नगर्न समेत दूतावासले सजग गराएको छ । मलेशियास्थीत दूतावासले यस कार्यक्रममा सहभागि भएर १० हजारको हाराहारी नेपाली स्वदेश फर्किने अपेक्षा गरेको छ । (फायल तस्वीर)