काठमाडौं, साउन २८-
वैदेशिक रोजगार विभागले राजधानीको एक शैक्षिक परामर्श दिने संस्थामा आकस्मीक छापा मारेर साईप्रस पठाउने नाममा संकलित कागजातहरु जफत गरेको छ । अनुगमन टोलीले साईप्रसमा रोजगारीमा जान दिएका निवेदनहरु, राहदानीको स्क्यान कपि, यसअघि कामदार भिषामा युरोपका विभिन्न मुलुकमा पठाइएका व्यक्तिहरुको विवरण फेला पारेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालका अनुसार काठमाडौंको सिनामंगलस्थीत एलाइन्स ईन्टरनेशनल एजुकेशन कल्सल्टेन्सीले सामाजिक सञ्जाल मार्फत युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेको फेला परेको थियो । सोही विज्ञापनका आधारमा अन्तरवार्ता लिइरहेको भन्ने उजुरीका आधारमा विभागले प्रहरीको सहयोगमा छापा मारेको थियो ।
अवैध रुपमा विदेश पठाउने प्रकृयामा सामेल भएको देखिएपछि कागजात, कम्प्युरको सिपियू लगायत जफत गरिएको र सो कन्सल्टेन्सीका सञ्चालक सुजित कुमार श्रेष्ठलाई वयानका लागि पत्र दिइएको विभागले जनाएको छ ।
शैक्षिक परामर्श दिने भन्दै दर्ता गरिएका कन्सल्टेन्सीहरुले विगत लामो समयदेखि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका थिए । विभागले यसरी काम गरिरहेका संस्थाहरुमा पनि छापा मार्न थालेको हो ।
यो पनि पढ्नुहोस् कोमाका विरामीः कसको दायित्व ?
