क्वालालम्पुर, साउन १६-
मलेसियामा कार्यरत विदेशी श्रमिक मध्ये नेपालीको संख्या तेश्रोे स्थानमा देखिएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले सार्वजनिक गरेको तथ्याँक अनुसार वैधानिक रुपमा मलेसियामा कार्यरत नेपालीको संख्या ३ लाख भन्दा केहि बढी छ । यो अघिल्लो बर्षको तुलनामा कम हो । झण्डै १५ महिनायता नेपाली श्रमिक मलेसिया जान रोकिएका कारण मलेसियामा नेपालीको संख्या अघिल्लो बर्षभन्दा घटेको हो । समग्रमा पनि मलेसियामा बैधानिक रुपमा रहेका विदेशी श्रमिकको संख्या केहि घटेको छ । अघिल्लो बर्ष २२ लाख बैधानिक विदेशी श्रमिक रहेकोमा यसबर्ष त्यो घटेर २० लाख ५९ हजार भएको छ ।
मन्त्रालयको तथ्याँक अनुसार मलेसियामा वैधानिक रुपमा कार्यरत नेपालीको संख्या ३ लाख १७ हजार ५ सय २९ छ । जसमध्ये १० हजार २८ जना महिला छन् । नेपालीको संख्या मलेसियामा कार्यरत विदेशी श्रमिकको १५ दशमलव ९ प्रतिशत हो । यसअघि सन् २०१५ मा मलेसियामा कार्यरत कुल विदेशी श्रमिक मध्ये नेपालीको संख्या २३ प्रतिशत थियो । सो समयमा पहिलो नम्वरमा ईण्डोनेशियाली श्रमिक मलेसियामा कार्यरत थिए भनें नेपाली दोश्रो स्थानमा तथा बंगलादेशी श्रमिक तेश्रो स्थानमा थिए । मलेसियाको जुनसुकै शर्त मानेर कामदार पठाउन बंगलादेश तयार हुनु तर नेपालले भनें श्रमिकलाई अनावश्यक आर्थिक भार पार्नेगरी श्रमिक नपठाउने अडान लिएपछि मलेसियामा बंगलादेशी श्रमिकले नेपालीलाई उछिनेका हुन् ।
मलेसियामा सवैभन्दा धेरै विदेशी श्रमिकमा ईण्डोनेशियन नागरिक रहेका छन् । मन्त्रालयका अनुसार मलेसियामा ७ लाख भन्दा धेरै ईण्डोनेशियन श्रमिक छन् । मलेसियामा अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकमा ईण्डोनेशियनको संख्या ठूलो हुने गरेको छ । यसैगरी दोश्रोमा बंगलादेशी श्रमिक छन् । मलेसियामा झण्डै ६ लाख बंगलादेशी छन् ।
यो पनि पढ्नुहोस कोमाका विरामीः कसको दायित्व