एजेण्ट भागेको भाग्यै, पीडित खोजेको खोज्यै

प्रभातकुमार मिश्र, धनुषा, असार ११-

धनुषाको मिथिला नगरपालिका ९ का देवेन्द्र साह सुँडी रोजगारीका लागि मलेसिया जान चाहन्थे । त्यसको चाँजोपाँजो मिलाउने भइन् छिमेकी पार्वती लामाले । लामा बैदेशिक रोजगारको एजेण्टको काम गर्दथिन् । १ लाख ४० हजारमा मलेसिया पठाइदिने सहमतिमा पैसा बुझिन् उनले । स्थानीय एक विद्यालयका शिक्षक पार्वतीका बाबु कमल लामाले पनि पैसा देउ छोरीले विदेश पठाइदिन्छे भनेपछि आफूलाई विश्वास लागेको देवेन्द्र बताउँछन् । यो एक बर्ष अघिको कुरा थियो ।

आज होला, भोली होला भन्दा भन्दै केहि महिना विते । तर देवेन्द्रको मलेसिया उड्ने दिन आएन । यसबीचमा पार्वतीले अर्को प्रस्ताव ल्याइन् युएईमा फर्निचरको काममा पठाउने । बैदेशिक रोजगारको व्यग्र पर्खाईमा रहेका देवेन्द्रले त्यसलाई स्वीकारे र उनी पैसा कमाउने सपना बोकेर पुगे युएई ।

युएई पुगेपछि थाहा भयो देवेन्द्र काम गर्न पुगेको कम्पनी फर्निचर बनाउने कम्पनी थिएन । त्यो त निर्माणको काम गर्ने कम्पनी थियो जसले उनलाई निर्माण श्रमिकका रुपमा झिकाएको थियो । काम फरक परेपछि देवेन्द्र नेपाल फर्किन चाहे जसमा कम्पनी पनि सहमत भयो । कम्पनीले नै टिकट काटेर उनलाई नेपाल फर्काइदियो । यसरी नै फसाइएर विदेश पुर्याइएकाहरुले बाँधा श्रमिकले झैं काम गर्नुपर्ने बाध्यताबाट भनें मुक्ति पाए देवेन्द्रले ।

यसरी काम फरक परेर नेपाल फर्केपछि उनी आफूलाई पठाउने हिमालयन भ्याली मेनपावर कम्पनी पुगे जहाँ सो मेनपावरका सञ्चालक दिपक चाम्लिङले उनलाई अर्को कुनै देश पठाइदिने आश्वासन दिए । मेनपावर कम्पनीले आफूले ८० हजार मात्र लिएको हुँदा कि त एजेण्टलाई लिएर आउन वा अर्को देश जान प्रस्ताव गरेपनि एजेण्ट सम्पर्क विहिन भइन् ।

छोरीलाई पैसा देउ भन्ने बाबु कमललाई पनि पीडित देवेन्द्रले धेरै पटक भेटेर पैसा फिर्ता गराइदिन अनुरोध गरिसके । तर उनी अहिले छोरीले लिएको पैसा उसैसँग कुरा गर्नु भन्दै पन्छिने गरेको देवेन्द्र बताउँछन् । यसबीचमा केहि सीप नचलेपछि देवेन्द्रले आफ्नो पैसा फिर्ता गराइदिन मिथिला नगरपालिकाको न्यायिक समितिमा निवेदन पनि हालेका छन् । समितिका तर्फबाट छलफलमा बोलाउँदा पार्वतीले आउने भन्दै टार्ने गरेको देवेन्द्रको भनाई छ ।

देवेन्द्रको घटनामा हिमालयन भ्यालीले पनि अर्कै मेनपावर कम्पनीको मागपत्रमा उनलाई पठाएको देखिएको छ । एजेण्ट पार्वतीले हिमालयन भ्यालीसँग सम्पर्क गराएपनि देवेन्द्रलाई भिक्ट्री नेपाल प्रालीको मागपत्रमा युएई पठाइएको हो । यस घटनाका पीडित देवेन्द्रले आफूले भनिएअनुसार काम नपाई नेपाल फर्किनु परेका कारण एजेण्टलाई बुझाएको रकम फिर्ता गराइदिन सम्वद्ध सवैलाई अनुरोध गरेका छन् ।  

यो पनि पढ्नुहोस् ८ महिनादेखि कतारमा खाना न पानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: