‘कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ’

 

काठमाडौं-

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि थुप्रै जायज मागहरु उठाई रहेको भन्दै तिनलाई यथोचित सम्वोधन गर्न उनले सरकारलाई आग्रह गरे । सरकारलाई सेवा भावका साथ काम गर्न पनि पूर्वप्रधानमन्त्री नेपालले आग्रह गरे ।

 

जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता नेपालले आफूमा रहेको कमिकमजोरी पत्ता लगाउँदै त्यसलाई सुधार्नेले मात्र प्रगति गर्नसक्ने भन्दै त्यसमा ध्यान दिन पनि संगठनका अगुवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कामप्रतिको सम्मानमा वृद्धि गर्न जरुरी रहेको धारणा राखे । उनले काम गरेर खानेले लाज मान्न नहुने भन्दै ठगि खानेहरुले मात्र लाज मान्नु पर्ने विचार राखे । उनले यातायात मजदुरहरुले काम गरेर खाने भन्दै आफ्नो कामप्रति सम्मान गर्न आग्रह गरे । कामप्रतिको सम्मान गर्ने संस्कृतिको विकास गर्न सकेमा बैदेशिक रोजगारमा जाने अभ्यासमा पनि कमि आउने उनको भनाई थियो ।

नेता पाण्डेले विश्वमै प्रविधिको विकास र अभ्यास बढिरहेको भन्दै त्यसको प्रभाव नेपालमा पनि पर्ने हुँदा भविष्यमा आइपर्न सक्ने चुनौतिको सामनाका लागि मजदुर तयार रहनु पर्ने बताए । उनले कतिपय मुलुकमा चालकविहिन गाडीहरु सञ्चालनमा आइसकेको भन्दै त्यो अवस्थामा कसरी आफ्नो पेशालाई निरन्तरता दिने भनेर तयारी गर्नु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा जिफन्टका पूर्व अध्यक्ष एवं साँसद मुकुन्द न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन बाँकी नै रहेको भन्दै अव त्यसका लागि भूमिका खेल्ने समय आएको धारणा राखे । उनले मुलुकमा कर्मचारीको जति तलव बढ्छ त्यो भन्दा धेरै महंगी बढ्ने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।  

जिफन्ट अनुशासन आयोग प्रमुख विष्णु लम्सालले यातायात मजदुरको जीवन समृद्ध बनाउन संगठनले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले सदस्य संख्याका हिसावले जिफन्टको १ नम्वर यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिका अझ धेरै रहेको बताए । यातायात क्षेत्रका अझ पनि थुप्रै समस्याहरु विद्यमान रहेको भन्दै तिनको निराकरणका लागि जुट्न उनले आग्रह गरे ।  

कार्यक्रममा बोल्दै जिफन्ट उपाध्यक्ष दिपक पौडेलले जिफन्टको खम्वाका रुपमा रहेको यूनियनले ४० औं स्थापना दिवस मनाइरहँदा अनौपचारिक क्षेत्रमा कसरी सामाजिक सुरक्षा लागु गर्न सकिन्छ भनेर सरकारलाई बाटो देखाउन जरुरी रहेको धारणा राखे । उनले यातायात मजदुर संगठनको देशव्यापी रुपमा बलियो संरचना रहेको भन्दै त्यसको उचित परिचालनमा जोड दिए । उनले यातायात मजदुरलाई जिम्मेवार बनाउँदै यातायात क्षेत्रमा परिवर्तनका लागि संगठनले सञ्चालन गरिरहेको अभियानको सराहना गरे ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले संगठनका अग्रज नेताहरुको योगदानको स्मरण गर्दै थुप्रै चुनौतिसँग लड्दै संगठन अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरे । उनले संगठन केहि समययता अलिक बढी पेशागत विषयमा केन्द्रीत रहेको भन्दै अव भनें राजनीतिक विषयमा पनि उत्तिकै केन्द्रीत रहने जानकारी गराए । अवको कम्यूनिष्ट पार्टीभित्र मजदुरको बाहल्यता हुनुपर्ने भन्दै यातायात मजदुरका समस्याको फेहरिस्त उनले प्रस्तुत गरे ।

कार्यक्रममा नेकपा, ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईंटेल, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्की, मेडिसिटी अस्पतालका सञ्चालक समिति अध्यक्ष उपेन्द्र महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

यातायात मजदुरहरुलाई आर्थिक सहयोग

संगठनले आफ्नो स्थापना दिवसको अवशरमा केहि मजदुरहरुलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो अवशरमा अरनिको ट्रक ईकाईका तर्फबाट शशी खड्का(४२ हजार), नरेन्द्र श्रेष्ठ(४० हजार), टीकाराम गुरुङ(३७ हजार), सोमवारे तामाङ(२२ हजार १ सय ४), टीकाराम दमाई(७ हजार २ सय) सहयोग गरेको थियो ।

यसैगरी बसपार्कमा बुकिङको काम गर्ने अर्जुन बस्नेतलाई संगठनको केन्द्रीय कमिटीका तर्फबाट रु १५ हजार उपचार खर्च हस्तान्तरण गरियो ।

 

रक्तदान र स्वास्थ्य परीक्षण

संगठनले देशका ६ वटा प्रदेशमा गरेको रक्तदान कार्यक्रममा १ हजार १२ जनाले रक्तदान गरेका छन् ।  जसअन्तर्गत प्रदेश नं १ मा ३ सय ४४ जनाले रक्तदान गरे । यसैगरी प्रदेश नं २ मा ५० जनाले, प्रदेश नं ३ मा २ सय ९९ जनाले रक्तदान गरेका छन् । गण्डकी प्रदेशमा ९२ जना, प्रदेश नं ५ मा १ सय ४४ जनाले तथा सुदुर पश्चिमप्रदेशमा  ८३ जनाले रक्तदान गरेका थिए । कर्णाली प्रदेशमा भनें रक्तदान कार्यक्रम आयोजना नभएको संगठनले जनाएको छ ।

काठमाडौंमा गरिएको रक्तदानमा ७ सय मजदुरले स्वास्थ्य परिक्षण गराएको संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: