
हरि कृष्ण न्यौपाने, कुवेत, असार ६-
कुवेतमा मृत्यु भएकी झापाकी ४१ बर्षिया सुमित्रा जबेगु लिम्बुको परिवारलाई सम्पर्कमा आउन कुवेतस्थीत नेपाली दूतावासले आग्रह गरेको छ । बिरामी भएर उपचारको लागि अस्पतालमा भर्ना गरिएकी सुमित्राको अस्पतालमै गत मे २८ तारिकमा मृत्यु भएको थियो । मृतकको घरपरिवार वा आफन्तजनसँग सम्पर्क हुन नसक्दा सुमित्राको शवलाई दूतावासले नेपाल पठाउन सकेको छैन ।
सन् २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा सुमित्रा कुवेतमा आएकी थिइन् । पाँचथर जिल्लाबाट सन् २०१३ फेब्रुअरी २७ तारिकमा जारी गरिएको राहदानी नं०३६४६६७४ मा आएकी उनको नजिकको नातेदारमा भाइ रहेका छन् जसको नाम नैन लिम्बु उल्लेख गरिएको छ । उनको स्थायी ठेगाना महाभारा ३ झापा जनाइएको छ।
नेपाली नागरिकता नं ०४०१६९१०४२० रहेकी सुमित्रा जगेबुको शव परिवार वा आफन्तजनसँग सम्पर्क हुन नसक्दा कुवेतको अस्पतालमै रहेको छ।
नेपाली दुतावास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरले भने “सुमित्राको शवलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको छ । उनको परिवार वा आफन्तजन कोहिसँग पनि सम्पर्क हुन नसक्दा उनको शवलाई नेपाल पठाइउन सकिएको छैन ।”
सुमित्राको परिवारसम्म यो सन्देश पुर्याईदिन दूतावासले आग्रह गरेको छ । कसैसँग परिवारको सम्पर्क भएमा नेपाली दूतावास कुवेतको हटलाइन नं ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।