काठमाडौं, असार ४-
नेपाली काँग्रेसकी साँसद डीला संग्रौलाले नेपालको एक प्रमुख गन्तव्य मलेसिया जान रोकिएसँगै लाखौं नेपाली युवाहरु अलपत्र परिरहेको तर श्रम मन्त्रीले भनें अफ्रिकी मुलुक मरिसससँग सम्झौता गर्न व्यस्त रहेको भन्दै आलोलना गरेकी छन् । उनले संसदमा खर्च कटौती सम्वन्धि प्रस्ताव प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
साँसद संग्रौलाले श्रम सम्झौताको खाली कागजमा हस्ताक्षर गर्दैमा रोजगारीको ढोका खुल्न सक्छ भन्दै प्रश्न समेत गरिन् । यसअघि काँग्रेसकै पालमा बैदेशिक रोजगारमा जानलाई लागु गरिएको फ्रिभिसा, फ्रिटिकट कार्यान्वयन नभएकोमा समेत उनले सरकारको आलोचना गरिन् । विसं २०७२ सालमा लागु भएको हो ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुन नसकेको, प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको लगायत आलोचना गरिन् । पटक पटक सर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्वन्धि विनियोजन विधेयकको छलफल बुधवार भएको हो ।
