काठमाडौं, जेठ ३१-
नेपाल र संयुक्त अरव ईमिरेट्स (युएई)बीच आज श्रम समझदारी हुँदै छ । यसअघि गत बैशाख दोश्रो साता नै श्रम समझदारीका बुँदाका विषयमा दुई देशबीच सहमति जुटिसकेको थियो । दुई देशका सरकारी अधिकारी सम्मिलित प्राविधिक समितिले आवश्यक सहमति जुटाईसकेको छ ।
श्रम समझदारीमा शुक्रवार अपरान्ह स्वीजरल्याण्डको जेनेभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले हस्ताक्षर गर्नेछन् ।
श्रोतका अनुसार दुई देशबीच यसअघि भएको सहमति अनुसार रोजगारीका लागि युएई जाने श्रमिकको सवै शुल्क रोजगारदाताले व्यहोर्ने, मेनपावर कम्पनीहरुलाई रोजगारदाताले नै सेवा शुल्क प्रदान गर्ने, उचित आवासको व्यवस्था हुनेछ ।
युएईसाग नेपालको यो पहिलो श्रम समझदारी भनें होइन । यसअघि सन् २००७ दुई देशबीच श्रम समझदारी भइसकेको छ । तर सो श्रम समझदारीको म्याद समाप्त भइसकेको अवस्थामा नयाँ श्रम समझदारी हुन लागेको हो । मलेशियाको रोजगारी रोकिएको अवस्थामा नेपाली श्रमिकका लागि युएई आकर्षक रोजगारी गन्तव्य मुलुक हो ।
