काठमाडौं, जेठ २१-
सरकारले विदेशबाट आउँदा ल्याइने सुनको भन्सार महशुल बढाएको छ । भन्सार दरसँगै विदेशबाट ल्याउन पाउने सुनको परिमाण पनि बढेको छ ।
सरकारले जारी गरेको आर्थिक अध्यादेश मार्फत सुनको भन्सार दरमा बृद्धि भएको हो । जसअनुसार अवदेखि विदेशबाट ल्याइएको सुन मध्ये पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय भन्सार महशुल लाग्नेछ । यसअघि सो शुल्क प्रति १० ग्राम ५ हजार २ सय थियो । यसैगरी ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय भन्सार महशुल तिर्नुपर्ने भएको छ । गत बर्ष सो शुल्क ६ हजार २ सय थियो । यसरी विदेशबाट आउनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा अव भन्सार महशुल वापत ६७ हजार भन्सार महशुल तिर्नुपर्ने छ ।
यसैगरी विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको भन्सार महशुल पनि बढेको छ । तर सँगसँगै विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि बृद्धि भएको छ ।
नयाँ व्यवस्था अनुसार विदेशबाट आउँनेले ल्याउने ५० ग्रामसम्मका सुनका गहनामा कुनै भन्सार शुल्क लाग्ने छैन । यो व्यवस्था गत बर्षपनि थियो । तर त्यसभन्दा बढी मात्रामा सुनको गहना ल्याएमा यसअघि जफत हुने गरेकोमा आर्थिक विधेयक मार्फत सरकारले थप १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । जसमध्ये ५० ग्राम भन्दा बढी १ सय ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम ७ हजार २ सय भन्सार तिर्नु पर्नेछ । यसैगरी थप १ सय ग्रामसम्म सुनका गहना प्रति १० ग्राम ९ हजार भन्सार तिरेर ल्याउन पाइने छ । यसरी कुनै व्यक्तिले विदेशबाट आउँदा २ सय ग्राम सुनको गहना ल्याएको भएमा पहिलो ५० ग्रामको कुनै भन्सार महशुल तिर्नुपर्ने छैन । बाँकी १ सय ५० ग्राम सुनको गहनाको जम्मा भन्सार महशुल ८१ हजार तिर्नुपर्नेछ ।
यो पनि पढ्नुहोस् श्रीमानले नै विदेश पठाए, फर्केपछि समस्या
