क्वालालम्पुर, जेठ १४-
मलेशियामा अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई कुनै प्रकृयाद्धारा वैधानिक बनाउन वा आममाफी दिएर स्वदेश फर्काउन मलेशियन ट्रेड यूनियन कंग्रेस(एमटीयूसी)ले माग गरेको छ । एमटीयूसीका महासचिव जे सोलोमनले मलेशियन सरकारले विदेशी कामदारको समस्या समाधानका लागि फराकिलो भएर सोच्नुपर्ने बताएका छन् ।
महासचिव सोलोमनले विदेशी कामदारको अधिकार सुरक्षित गर्न र उनीहरु शोषणमा पर्नसक्ने सम्भावनाबाट बचाउन सरकारले ध्यान दिनुपर्ने बताए । उनले बेरोजगारीको अन्त्य तथा कामदारको अभावलाई सुल्झाउन मलेशियाको मन्त्रीपरिषदले गर्ने निर्णयको स्वागत गरिने बताए । यसअघि मानव संशाधन मन्त्री एम कुलासेग।नले मुलुकमा विदेशी कामदारको चर्को अभाव भएर उद्योग, व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै विदेशी कामदार लिने नीति केहि खुकुलो बनाउने संकेत गरेका थिए । उनले आगामी बुधवार बस्ने मन्त्रीपरिषद बैठकमा यस विषयमा गम्भीर रुपमा छलफल हुने जानकारी यसअघि नै दिएका छन् ।
“एमटीयूसीले पटक-पटक विदेशी कामदार सम्वन्धि विषयलाई समग्रमा सुल्झाउन सुझाव दिएको र टालटुले नीतिले समस्या समाधान हुँदैन भन्दै आएको छ” सोलोमनले भने “हामीसँग विदेशी कामदारसँगको निर्भरताको बैकल्पिक व्यवस्थाको स्पष्ट व्यवस्था हुन जरुरी छ ।”
हाल प्रतिमहिना १० हजार विदेशी कामदार बैधानिक रुपमा मलेशिया प्रवेश गरिरहेको भन्दै उनले मलेशियामा हाल कति विदेशी कामदार अवैधानिक रुपमा कार्यरत छन् भन्ने यकिन नभएको बताए । उनले त्यसरी अवैधानिक रुपमा कार्यरतहरुलाई नै वैधानिक बनाउने नीति लिन सरकारलाई आग्रह गर्दै यसले विदेशी कामदारलाई शोषणबाट जोगाउने र उनीहरुलाई प्रणाली भित्र ल्याउने धारणा राखे । वैधानिक हुन चाहनेहरुलाई वैधानिक बनाउने र स्वदेश फर्किन चाहनेहरुलाई आममाफी दिनु पर्ने उनको सुझाव छ ।
यसैबीच मलेशियाले सन् २०१७ अगाडी अपनाएको विदेशी कामदार लिने प्रकृयालाई नै मन्त्री परिषदले पुनः सुरुवात गर्न खोजेकोमा रोजगारदाताहरुले त्यसको स्वागत गरेका छन् । मलेशियन रोजगारदाता महासंघ(एमईफ) का कार्यकारी निर्देशक शम्शुद्धिन वार्दिनले सरकारले गर्न खोजेको व्यवस्थाले हाल देखिएको विदेशी कामदारको चर्को अभावलाई सम्वोधन गर्ने बताए । उनले यसअघि सफल देखिएको पुरानै प्रकृया मार्फत विदेशी कामदार लिने विषयले राहत मिल्ने धारणा राखे । उनले पुरानो प्रकृया कम झण्झटिलो तथा समय र पैसाको बचत हुने प्रकृतिको रहेको बताए ।
हालको प्रकृया मार्फत विदेशी कामदार लिन कम्तीमा ९ हप्ताको समय लाग्ने गरेको छ । तर पुरानो प्रकृयामा एक दुई हप्ता भित्रैमा विदेशी कामदार लिन रोजगारदाताहरुले सक्ने अवस्था थियो । मलेशियाले गर्न खोजेको परिवर्तनले नेपाली कामदार लिने विषयमा भनें तत्काल केहि फरक पर्दैन । यो मलेशियाको विदेशी कामदार लिने आन्तरिक प्रकृयालाई सहज बनाउन खोजिएको मात्र हो ।
यो पनि पढ्नुहोस् विदेशको डिमाण्ड बुझ्न मेनपावर जानु नपर्ने
