२० देखि ४० हजार शिक्षित बेरोजगारका लागि रोजगारी खुल्दैः मन्त्री विष्ट

काठमाडौं, जेठ १०-

सरकारले शारिरीक श्रम गर्नेहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जनाको कार्यक्रम अगाडी बढाइरहेका बखत शिक्षित बेरोजगारहरुका लागि पनि ठूलो संख्यामा रोजगारीका लागि विज्ञापन हुन लागेका बताएको छ । यसका लागि आगामी एक दुई महिना भित्रैमा कम्तीमा २० देखि ४० हजार व्यक्तिका लागि विज्ञापनको तयारी भइरहेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी आर्थिक बर्षमा पढेका व्यक्तिले रोजगारी पाउने गरी कम्तीमा २० देखि ४० हजार व्यक्तिका लागि आगामी एकदुई महिना भित्रैमा विज्ञापनको तयारी भइरहेका बताएका छन् । उनले सुचना प्रविधिको क्षेत्रमा अझ धेरै रोजगारी सिर्जनाको तयारी गरिएको भन्दै एक बर्षभित्रैमा सो क्षेत्रमा १ लाख व्यक्तिका लागि रोजगारीको तयारी भएको बताए ।

प्रदेश नं ३ का पालिका प्रमुख, उपप्रमुख र रोजगार संयोजकहरु सम्मिलित कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस बर्ष ९० हजार व्यक्तिलाई कम्तीमा ३० दिनको रोजगारीको ग्यारेण्टी सहित स्थानीय तहलाई रकम उपलव्ध गराएको सरकारले आगामी बर्ष लाखौं व्यक्तिका लागि रोजगारी सिर्जना हुने कार्यक्रम घोषणा गर्ने बताए । उनले स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रोजगारी बृद्धिका कार्यक्रममा केन्द्रीत हुन आग्रह गर्दै यसका लागि कालिकोटको रासकोट गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिका लगायतले स्थानीय स्तरमै रोजगारी सिर्जनामा गरेको कामको प्रशंसा गरे ।

मन्त्री विष्टले नेपालमा हाल ५ लाख विदेशीले रोजगारी पाइरहेको तर हरेक बर्ष ५ लाखको हाराहारीमा नेपाली बैदेशिक रोजगारमा जाने विपरित अवस्था रहेको भन्दै यसको अन्त्य हुन जरुरी रहेको बताए । उनले यसका लागि स्थानीय तहले नै काम गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री रोजगार कार्यक्रम काम गर्ने उमेरका जन शक्तिलाई स्वदेशमा नै रोजगारी पाउने अवस्था निर्माण गर्न केन्द्रीत रहेको भन्दै स्थानीय तहहरुलाई रोजगारी सिर्जनामा प्रतिस्पर्धी भएर आफ्नो ठाउँको जनशक्तिलाई रोजगारीमा जुट्ने वातावरण निर्माण गर्न आग्रह गरे ।  

नेपालमा शारिरीक परिश्रम गर्नेहरु प्रति अझै पनि सम्मानको भावना कमजोर रहेको भन्दै मन्त्री विष्टले यसमा सुधारको खाँचो औंल्याए । नेपालमा हरेक बर्ष सीप नभएको जनशक्ति हुर्किरहेको तर त्यसले काम नपाइरहेको तर अर्कातर्फ श्रम बजारले चाहे अनुरुप काम गर्ने जनशक्ति नपाइरहेको अवस्था रहेको बताए ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: