
काठमाडौं, जेठ ६-
नेकपामा मजदूर संगठनको नेतृत्व चयनप्रति तत्कालिन माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड यूनियन महासंघ(अण्टुफ) का अध्यक्ष गणेश प्रसाद रेग्मी सहित तीनजना पदाधिकारीले विरोध जनाएका छन् । उनीहरुले पार्टी महासचिवलाई आफूहरुलाई कोतपर्वको शिकार नबनाइयोस् भन्दै न्यायको अपिल गरेका छन् ।
नेकपाले गत जेठ ३ गते जनवर्गिय संगठनहरुको नेतृत्व घोषणा गर्दा संयोजकमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठलाई चयन गरेको छ भनें सह-संयोजकमा अण्टुफका महासचिव जगत सिंखडालाई चयन गरिएको छ । अण्टुफका अध्यक्ष रेग्मी, उपाध्यक्षद्धय धनबहादुर विक र उषा देवकोटाले पार्टीले गरेको सो निर्णयमा आफूहरुको गम्भीर असहमति रहेको भन्दै महासचिवलाई पत्र लेखेका हुुन् । मुख्यगरी जिफन्ट अध्यक्ष श्रेष्ठले एकिकरण पश्चात बन्ने ट्रेड यूनियन महासंघ नेपालको संयोजकको जिम्मेवारी पाएपछि सह-संयोजकमा अण्टुफ अध्यक्ष रेग्मी स्वयं ईच्छुक थिए । तर रेग्मी र उपाध्यक्षद्धय विक तथा देवकोटालाई पन्छाउँदै महासचिव सिंखडा एकिकृत महासंघको सहसंयोजकमा चयन भएपछि यसको विरोध भएको हो ।
महासचिवलाई सम्वोधन गर्दै संयुक्त रुपमा लेखिएको सो पत्रमा नेपालको ट्रेड यूनियन आन्दोलनमा कम्तिमा तीन दशकदेखि अहोरात्र खट्ने निस्वार्थ व्यक्तिको त्याग, तपस्या र योगदान सहितको लामो राजनीतिक जीवनलाई बिना कारण र जानकारी समाप्त पारिएको भन्दै विरोध गरिएको छ । उनीहरुले यो कस्तो कम्यूनिष्ट कानून हो र के त्यस्तो अपराध थियो जसको यस्तो गम्भीर सजाय दिइयो भन्दै प्रश्न गरेका छन् । पत्रमा आफूहरु माथि भएको अपमान र अन्याय निरुपण गरी न्याय दिन पार्टी नेतृत्वलाई आग्रह गरिएको छ ।