स्वदेश फर्केर स्वरोजगार

स्याङजा, जेठ ३-

पछिल्लो समय स्याङ्जामा विदेशिएका युवा स्वदेश फर्केर बाख्रापालनमा लागेका छन् । सात वर्षसम्म दुबईमा काम गरेर फर्केका भीरकोट नगरपालिका ३ रानीडाँडाका केशरजङ्ग अधिकारीले लेकाली बाख्रा फार्ममार्फत व्यावसायिक बाख्रापालन गरेका छन् । 

दुबईमा रहँदा दुबो खुवाएर बाख्रा पालेको देखेपछि उनले नेपालमै आएर बाख्रापालन गर्ने सोच बनाएको बताए । अहिले उनको व्यवसायको अनुशरण गर्नेको सङ्ख्या बढिरहेको अधिकारी बताउँछन् । गाउँमै २८ रोपनी जग्गा किनेर बाख्रापालन थालेका अधिकारीको फार्ममा अहिले ५८ वटा बाख्रा छन् । उनले करिब १२ लाख रुपियाँ लगानी गरेर खरी जातका १८ बाख्रा खरिद गरेर व्यवसाय सुरु गरेका थिए । अहिले उनको लगानी करिब २२ लाख पुगेको छ ।

यो व्यवसायमा धेरै मिहिनेत नगरिकनै वार्षिक चार लाख रुपियाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

बाख्रापालनसँगै उनले पाँच रोपनी जमिनमा नेपियर, भटमासे, मण्डेलाजातका घाँसखेती गरेका छन् । गण्डकी प्रदेश सरकारबाट साढे दुई लाख रुपियाँ अनुदानसमेत प्राप्त गरेका अधिकारीले जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर अनुदानमा प्राप्त गरेका छन् ।

त्यस्तै भारतमा कम्प्युटर इन्जिनियर अध्ययन गरेका कालीगण्डकी गाउँपालिका५ बेल्टारीका त्रिभुवन न्यौपानेले पनि बाख्रापालन व्यवसाय अँगालेका छन् । चार वर्ष भारतमा राम्रो जागिर खाएका न्यौपानेले अरूको अधिनमा बसेर काम गर्न मन नपरेपछि नेपालमै फर्किएको बताए । 

पाँचवटा बाख्राबाट व्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले माउ, बोका, पाठापाठी गरी ५५ बाख्रा छन् । न्यौपानको फार्ममा २५ देखि ७५ प्रतिशतका बोयर बाख्रा छन् । उनले २०७२ सालमा भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरी व्यावसायिक रूपमा अगाडि बढेको बताए ।

वार्षिक १५ लाख रुपियाँको कारोबार हुने बताउँदै न्यौपानेले १० लाख रुपियाँसम्म बचत गर्न सफल भएको बताए । 

अधिकारी र न्यौपानेजस्तै यहाँका १२९ जना युवाले फार्म दर्ता गरी व्यावसायिक रूपमा बाख्रापालन गरेको बाख्रा गाउँ स्याङ्जाका अध्यक्ष सुशील अर्यालले बताए । यो समाचार गोरखापत्रमा अर्जुन काफ्लेले लेखेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: