यी १२ वटा काममा बैदेशिक रोजगारमा जान अव प्रमाणपत्र अनिवार्य

 

काठमाडौं, जेठ २-

सरकारले आगामी असार १५ गतेदेखि बैदेशिक रोजगारमा जान चाहने मध्ये १२ वटा क्षेत्रको रोजगारीमा जानेहरुले श्रम स्वीकृति लिन अनिवार्य रुपमा सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बैदेशिक रोजगार विभागले एक सुचना प्रकाशित गर्दै रोजगारमुलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार त्यस्तो व्यवस्था गर्न लागिएको जनाएको हो । विभागले रोजगारीका लागि विदेशिनेहरुले बैदेशिक रोजगार बोर्डबाट त्यस्तो प्रमाणपत्र लिन सक्ने जनाएको छ ।

यसरी सीप प्रमाणित गर्नुपर्ने काममा हाउस वाईरिङ/ईलेक्ट्रीसियन, वेटर, कुक, सेक्यूरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लीनर, स्काफोल्डिङ, सटरिङ कापेन्टर, पेन्टर, गार्मेण्ट/टेलरिङ र प्लम्विङ रहेका छन् ।

विभागले सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरिसकेकाहरुको हकमा सम्वन्धित कम्पनीबाट उक्त विषयमा काम गरेको अनुभवको प्रमाणपत्र पेश गरेको अवस्थामा त्यसको आधिकारिकता यकिन गरेर मात्र श्रम स्वीकृति दिइने प्रष्ट पारेको छ । यसैगरी अनुभवको प्रमाणपत्र पेश गर्न नसक्नेहरुको हकमा बैदेशिक रोजगार बोर्डको सचिवालय मार्फत सिकाई परीक्षण गराई त्यसको प्रमाणपत्र लिएर मात्र श्रम स्वीकृति दिइने जनाइएको छ ।

विभागले सीपमुलक कामका लागि बैदेशिक रोजगारीमा जाने कामदारहरुले सीपमुलक तालिम लिएको यकिन गर्न यस्तो व्यवस्था गर्न लागेको हो । यसअघि यी कामको भिसामा जानेहरु सीप नसिकी जाँदा विदेशमा पुगिसकेपछि काम, तलव फरक पर्ने बढी गुनासो आउने गरेका कारण सरकारले तालिम लिएको कुरा यकिन गर्न खोजेको हो । विभागले आगामी आर्थिक बर्षदेखि सीप विकास तालिमलाई सवै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्षण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जनाएको छ ।    

यो पनि पढ्नुहोस् जापानको रोजगारीः भाषामा गरिने लगानी कति आवश्यक ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय