महिलालाई प्रतिवन्ध कहिले हटाउने सरकार ?

काठमाडौं, बैशाख २०-

स्वदेशमा रोजगारी नभएका कारण प्रतिवन्धका वावजूद नेपाली महिला रोजगारीका लागि विदेश गइरहेको र त्यसरी गएका महिला समस्यामा परेको भन्दै प्रतिवन्ध खोल्न यस क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले माग गरेका छन् । पुरुष जस्तै सहज रुपमा बैदेशिक रोजगारमा जान नपाउनु मानवअधिकारको हनन् भएको समेत उनीहरुको भनाई छ ।

बैदेशिक रोजगार विभाग र देशपरदेश डटकमको सहकार्यमा सञ्चालित कार्यक्रम रोजगारी अवको बाटोमा बोल्दै आप्रवासी महिलाहरुको संस्था आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले महिलासम्म सुचना नपुगिरहेको बताइन् । उनले घरेलु काममा श्रम स्वीकृति नदिइने भएका कारण ति महिला सुरुदेखि नै अन्यायमा पर्ने गरेको बताइन् । उनले रोजगारीकै क्रममा ति महिलाको विदेशमा मृत्यु भएमा त्यसको क्षतिपूर्ति समेत नपाउने अवस्था रहेको बताइन् । उनले महिलाले कमाएर पठाउने पैसमा मुलुकमा नै भित्रिरहेको भन्दै यो राज्यले गरेको अन्याय भएको धारणा राखिन् ।

सरकारले बन्देज लगाएका कारण दलालले भारतको बाटो भएर नेपाली महिलालाई खाडीका मुलुक लगायतमा पुर्याइरहेको भन्दै बन्देज समस्याको समाधान नभएको उनको भनाई छ । उनले पितृसत्तात्मक सोचका कारण महिलालाई सुरक्षा गर्नुपर्छ भन्ने मानसिकता हावी रहेको भन्दै बर्षौंसम्म प्रतिवन्ध लगाएर राख्नु उचित नभएको तर्क गरिन् । उनले बैदेशिक रोजगारमा घरेलु काम भन्ने वित्तिकै नकारात्मक रुपमा लिन नहुने भन्दै राम्रो सुविधा पाइरहेकाहरुलाई रोजगारीमा जान रोक्नु अन्याय भएको बताइन् ।

“हामीले सवैलाई ह्वारह्वार्ती पठाउ भनेको होइन” उनले भनिन् “हाम्रो सरकारले तालिम र भाषा सिकाएर महिलालाई रोजगारीमा पठाउने हो भनें महिलाका लागि उपयुक्त हुन्छ, राज्यलाई पनि फाइदा नै हुन्छ ।” उनले बन्देज नलगाई पठाउँदा पूर्व प्रस्थान अभिमुखिकरण लिएर जाने। सीपतालिम लिएर मात्र जाँदा थप सुरक्षित हुने र विदेशमा कुनै समस्या परेमा सुविधा पाउने भन्दै हाल भारतको बाटो भएर जाँदा जोखिम धेरै भएको बताइन् ।

आमकास नेपालकी अध्यक्ष राईले अव स्थानीय तहले बैदेशिक रोजगारका बारेमा आफ्नो क्षेत्रका नागरिकलाई सुचना दिन र आवश्यक तालिम लगायतको सुविधा उपलव्ध गराउने तर्फ सोच्नु पर्ने बताइन । उनले आफ्नो देशको तथा जान लागेको देशको आधारभूत कानूनको जानकारी लिएर तथा भाषा, सीप सिकेर मात्र जानु आवश्यक रहेको बताइन् ।

नेपालले हाल घरेलु काममा जान नेपालीलाई बन्देज लगाएको छ । संसद अन्तर्गतको समितिको सिफारिसमा लगाइएको बन्देज खोल्नुपर्ने चर्को माग हुँदाहुँदै पनि सरकारले हालसम्म त्यसलाई खोलेको छैन । बन्देजका कारण यसअघि नै बैदेशिक रोजगारमा घरेलु काममा गएकाहरु छुट्टीमा घर आएर पुनः जान समेत पाएका छैनन ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय