प्रधानमन्त्री र श्रम मन्त्री दुवैको  प्रतिवद्धताः रोजगारीका लागि विदेशीनु पर्ने अवस्थाको अन्त्य

काठमाडौं, बैशाख १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको वताएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको स्मरण गरेका छन् ।

सन्देशमा भनिएको छ राजनीतिक,सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन् ।

सरकारले श्रमजीवीहरुको हक,अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छउनले सन्देशमा भनेका छन्, “पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने काम भइरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सन्देशमा रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको समेत जानकारी दिएका छन् । न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक बेरोजगार परिवारका लागि एकजना श्रमिकलाई एक सय दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यन्वयन गर्न समेत कार्य प्रारम्भ भइसकेको छसन्देशमा भनिएको छ ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राजनीतिक रूपान्तरणको यस चरणसम्म आइपुग्न इतिहासको विभिन्न कालखण्डमा श्रमिकहरूले पुर्‍याएको योगदान अतुलनीय भएको बताएका छन् । राजनीतिक परिवर्तनलाई दिगो बनाई मुलुकको आर्थिक, सामाजिक विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प साकार पार्न श्रमिकहरूको महत्वपूर्ण भूमिका रहन्छ मन्त्री विष्टद्धारा जारी विज्ञपतीमा भनिएको छ ।

संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवम् प्रकृयागत सुधार थालेको भन्दै मन्त्री विष्टले यस क्रममा श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गरिएको स्मरण गरेका छन् ।

विज्ञप्तीमा श्रमको सम्मानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको भन्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजनाहरु आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्‍घोष गरिएको छ ।

त्यसैगरी श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका नवीन कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको मन्त्री विष्टले उल्ल्ेख गरेका छन् ।

श्रमिकहरूलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको सिर्जना गर्न सकिएमा मात्र श्रमको उत्पादकत्व वृद्धि हुन सक्ने विज्ञप्तीमा उल्लेख छ । यसतर्फ तीनै पक्षहरू, सरकार, रोजगारदाता र श्रमिकहरुले एकआपसमा हातेमालो गर्दै सबै किसिमको कामप्रति सम्मान गर्ने संस्कृति विकास गर्न श्रम दिवसले थप प्रेरणा दिने विश्वास आफूले लिएको मन्त्री विष्टले उल्लेख गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: