काठमाडौं, बैशाख १३-
मलेशियामा वर्तमान सरकारको घोषित नीति नै हो विदेशी कामदारको संख्या घटाउने । नयाँ सरकार गठनको एक बर्षभित्रमा विदेशी कामदारको संख्या अझ यो भन्दा धेरै घटाइने योजना बनाइएको भएपनि केहि नयाँ क्षेत्रमा विदेशी कामदारको मागमा भएको अत्यधिक वृद्धिले लक्ष्य अनुसार संख्या घटाउन भनें नसकिएको मलेशियाली अधिकारीहरुलाई उद्दृत गर्दै मलेशियाका सञ्चार माध्यमले लेखेका छन् ।
नयाँ कम्पनीहरुमा देखिएको अत्याधिक मागका कारण विदेशी कामदारको संख्या लक्ष्य अनुरुप घटाउन सकिएन मलेशियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले भनेका छन् । द स्टारसँगको अन्तर्वार्ताका क्रममा मानव संशाधन मन्त्री कुलासेगरनले ति कम्पनीहरुले रोजगारीमा मलेशियन नागरिकको अनिच्छाका कारण आफूहरुले विदेशी कामदार लिन बाध्य भएको जनाउने गरेको बताए ।
वर्तमान सरकार सञ्चालन गरिरहेको गठवन्धन पक्तान हर्पनले मुलुकमा एकतिहाई विदेशी कामदार घटाइने चुनावी प्रतिवद्धता गरेको थियो । तर सो प्रतिवद्धता पुरा गर्न सरकार अहिले पनि प्रतिवद्ध रहेपनि स्वयं मलेशियन नागरिकले काम गर्न देखाएको अनिच्छाका कारण समस्या भएको कुलासेगरनको भनाई छ । तर यसका वावजुद विदेशी कामदारप्रतिको निर्भरता घटाउँदै लगिने र मलेशियामा स्वयं मलेशियन नागरिकले नै काम गर्ने वातावरण निर्माणका लागि सरकार प्रयत्नशिल रहेको उनको भनाई छ ।
यो पनि पढ्नुहोस् कतारका लागि नेपाली राजूदतलाई फिर्ता गर्ने सरकारको निर्णय
