कतार कामदारलाई कुनै आर्थिक भार नपारी लैजान सकारात्मक

काठमाडौँ, चैत ४-

कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो ।

कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्धिपक्षिय वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी र्दिए ।

सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको बुधबार र बिहीबार कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको हो ।

उनका अनुसार कतारबीच भएको छलफलका क्रममा नेपालले शून्य लागतमा श्रमिक लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार एवं जवाफदेही बनाउनुपर्ने, न्यूनतम तलव सुविधाको प्रत्याभूति गर्नुपर्ने, अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यावसायिक श्रमिकको हकहित, व्यावसायिक स्वास्थ्य एवं सुरक्षा र श्रमिकमैत्री कार्यथलो सुनिश्चित हुनुपर्ने प्रस्ताव गरेको थियो ।

छलफलमा ओभरटाइम, कार्यस्थलबाहेकको समयमा हुने दुर्घटनाको पनि बीमा व्यवस्था, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा बिदा दिनुपर्ने, स्वास्थ्य जाँच एवं भिसा प्रक्रियामा कुनै पनि खालको सिन्डिकेट हुन नहुनेजस्ता सर्त नयाँ श्रम समझदारीमै उल्लेख गर्नुपर्नेलगायतका विषयमा नेपाली पक्षले जोड दिएको जानकारी उनले दिए । 

सहसचिव घिमिरेले श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुँच हुनुपर्नेलगायतका विषय पनि श्रम सम्झदारीमै सुनिश्चित गर्नुपर्नेलगायतका विषयमा प्रस्ताव गरेको जानकारी दिए । 

कतार प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधि नेपालले उठाएका प्रायः विषयमा सकारात्मक भए पनि त्यो विषयमा दुवै पक्षले आफ्नो विभागीय मन्त्रिस्तरमा छलफल गरेर मात्रै टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, कतार सरकार जतिसक्दो चाँडो श्रम समझदारी गर्न तत्परता देखाएको छ त्यसैले एक चरणमा छलफल भइसकेपछि नेपाली टोलीले आफ्ना धारणा लिखित रूपमा नै बुझाएका छौँ, त्यो प्रतिक्रिया लिखित रूपमा आउने विश्वास लिएका छौँ ।

सरकारले श्रम समझदारीको मस्यौदा टुङ्गो लगाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखा प्रमुख घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली गएको मङ्गलबार कतार गएको हो । मन्त्रालयका अनुसार नेपालले कतारसँग सन् २००५ मा गरिएको श्रम समझदारीलाई नेपाली श्रमिकको हित हुने गरी पुनरावलोकन गर्न लागिएको हो । गोरखापत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: