दैनिक खाजा खर्च दिएर तालिम, ४ हजार बेरोजगारलाई रोजगार बनाउने लक्ष्य

काठमाडौँ, फागुन २८

सरकारले यसवर्ष करिव ४ हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिए ।

उनले छोटो अवधिका तीन महिने उक्त तालिमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३ सय ९० घण्टा सञ्चालन हुने तालिममा इलेक्ट्रिसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाना पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।

तालिमका लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलवारसम्म भौचर सङ्कलन गरिएको थियो । तालिममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ ।

काठमाडौँ उपत्यकाका विभिन्न तालिम प्रदायक संस्थाले दिइने उक्त तालिममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रूपमा विपन्नता भएकाले सहभागी हुन सक्नेछन् ।

तीन महिनाको तालिमपश्चात् प्रशिक्षार्थीको तालिमको सीप परीक्षण गरेर ६ महिना रोजगारीमा जानु पर्नेछ । यसरी तालिमपश्चात् तालिम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनले बताए । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालिम सञ्चालित हुनेछ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: