
काठमाडौं, फागुन ६-
बैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेशमा नै रोजगारीको व्यवस्था गर्ने सरकारको प्रतिवद्धतालाई व्यवहारमा उतार्ने गरी खै त काम भएको भनेर प्रश्न गरेका छन् । उनीहरुले देशपरदेशको नयाँ कार्यक्रम रोजगारी अवको बाटोमा श्रम मन्त्री गोकर्ण विष्टसँग यो प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सरकार जुटेको श्रम मन्त्री विष्टको भनाईमा उनीहरुको यस्तो प्रतिकृया आएको हो । देशपरदेशलाई प्राप्त प्रतिकृया मध्ये कुन्दल भण्डारी लेख्छन्ः स्वदेशमा नै रोजगार दिनलाई त देशमा उधोगधन्दा कलकारखाना खोल्नुपर्याे नि । भएका उद्योग निजिकरण गरेर बेचिसकिएको छ जसका कारण स्वदेशमा बेरोजगार भएपछि श्रम गर्ने उमेरकाहरु विदेशीभूमिमा काम गर्न बाध्य छन् । उनीहरुले पठाएको रेमिट्यान्स खाने, भोलिको विकल्प के त ?
यसैगरी धनसिंह पुनले लेखेका छन् श्रम मन्त्रीको अन्तरवार्ता सुन्न पाइयो । उर्जा मन्त्री हुँदा पनि तपाईले केहि गर्न खोज्नु भएकै हो र खुटटा तान्नेहरु थुप्रै थिए । तर एउटा नबुझेको कुरो अहिले आन्तरिक बजारमा नै रोजगारीको कुरो पनि उठाउनु हुन्छ अनि फेरि बिदेश जानेहरुका लागि रोजगारीको कुरा पनि गर्नु हुन्छ । बुटवल धागो कारखाना बन्द, भृकुटी कागज कारखाना बन्द, जुटमिल बन्द, बाँसबारी जुत्ता कारखाना बन्द, सुनवल चिनी कारखाना बन्द भएको छ । यो अवस्थामा कसरी रोजगारीको व्यवस्था गर्नुहुन्छ ?
सचिन रोक्काले पनि बैदेशिक रोजगारलाई निरुत्साहित गर्ने सरकारी कुरा राम्रो भएपनि व्यवहारमा त्यसलाई उतार्न चुनौतिपूर्ण भएको कुरा लेखेका छन्। उनले यसअघि पनि युवा स्वरोजगार कोषका नाममा धेरै रकम हिनामिना भएको भन्दै यसपटक केहि उद्योग खोलेर काम थालेमा भनें स्वदेशको रोजगारी प्रोत्साहित हुने कुरा लेखेका छन् ।
राज लामाले हरेक श्रमिकलाई सुविधा सम्पन्न रोजगार मिल्छ होला भनेर आशा र बिश्वास नभएको कुरा लेखेका छन् । सरकारले उपलव्ध गराउने रोजगारीमा के कस्तो सुविधा होला त भन्ने पनि उनको जिज्ञासा छ ।
यो पनि पढ्नुहोस् मलेसियाको कलिङ भिसा बारे यस्तो छ तयारी