काठमाडौं,फागुन १
स्वदेशमा रोजगारीका अवसर बृद्धिको लक्ष्य सहित प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच कार्यक्रम उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले बेरोजगारी नेपालको एउटा मुख्य समस्या भएको भन्दै त्यसको अन्त्यका लागि यो कार्यक्रम सुरु गरिएको बताए । सवैले उत्तिकै काम पाउने हो भने गरिवी रहने थिएन भन्दै वर्तमान सरकारले नेपालीलाई गरिव देशको पहिचानबाट समृद्ध देशका रुपमा रुपान्तरण गर्न चाहेको बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय सरकारसँग मिलेर पर्यटन, कृषि, उद्योग, सञ्चार, सुचना प्रविधि लगायत विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गरिने बताए । तथ्य तथ्याँकलाई उपयुक्त ढंगबाट राख्ने र त्यसलाई अद्यावधिक गरिरहने तथा बेरोजगारको स्थीति र रोजगारीको अवस्था र आवश्यकतालाई व्यवस्थीत गर्न यो कार्यक्रम केन्द्रीत हुने उनल बताए । प्रधानमन्त्री ओलीले नेपालको रोजगारीलाई व्यवस्थीत गर्न एउटा ऐतिहासिक र दुरगामी महत्वको कार्यक्रम सुरु भएको बताए । उनले यो नेपालका लागि नयाँ अभ्यासको सुरुवात भएको बताए ।
सो अवसरमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यो कार्यक्रम सित्तैंमा भत्ता बाँड्ने होइन भन्दै बिना काम सवै बेरोजगारलाई भत्ता बाँड्ने यो कार्यक्रम नभएको प्रष्ट पारे । उनले यस कार्यक्रमले कसैलाई पनि विचार, क्षेत्र जस्ता कुराका आधारमा विभेद नगर्ने पनि प्रष्ट पारे ।
श्रम मन्त्री विष्टले काम गर्ने संस्कृति विकास गर्न श्रमको सम्मान, राष्ट्रको अभियान सञ्चालन गरिने बताए । यसले युवालाई राष्ट्र निर्माणमा संलग्न गराइने भन्दै मरभूमिलाई हराभरा बनाउने परिश्रमि हातलाई स्वदेशको विकासमा संलग्न बनाउन यस कार्यक्रमले भूमिका खेल्ने बताए ।
यो पनि पढ्नुहोस् नेपालमा अव जागिर होइन काम खुल्दैछ