
काठमाडौं, माघ २७-
विदेशबाट आउनेहरुले ल्याएका तोकिएको परिणाम भन्दा धेरै सामग्री ठूलो मात्रामा जफत हुन थालेपछि त्यसको विरुद्धमा कतिपयले तिखो प्रतिकृया जनाएका छन् । भन्सार विभागको सो कदमका बारेमा सामाजिक सञ्जालमा आएका केहि प्रतिनिधिमूलक प्रतिकृया यस्ता छन्:
फेसबुकमा नायिका रेखा थापाले लेखेकी छन्ः
युएई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकी छु । जव बर्षहरु पछी घर फर्किने सुखद दिन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन, एइटा टिभी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनीहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला ? तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन। यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनीहरुको कमाइको नासो किन खोस्दैछ सरकार ? के परिवारको लागि चिनो ल्याउनु अपराध हो ? मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनीहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।
आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ???
यसैगरी ट्वीटरमा @brnpkrl लेख्छन्ः
यार्पोर्टमा कफिनको साइज कति भन्दा बढी भयो भने थप भन्सार लाग्छ ? कति तौल भन्दा बढीको कफिन भयो भने यार्पोटको भन्सारमा जफत हुन्छ ?
अधिवक्ता निशा बानियाँ फेसबुकमा लेख्छिन्ः
विदेशमा काम गरेर आफ्नो देश फर्केकालाई एयरपोर्टमा झमेला नदिनुहोला । सबैले ल्याएको झिटिझ्याम्टा जोडेर यति आउदो रहेछ रोकेका छौ भन्न पाइन्न । गैरकानुनी सामान बाहेक रोक्न मिल्दैन । यो बैदेशिक रोजगारमा गएर फर्किने श्रमिकको मानवअधिकारको हनन हो ।
सञ्चारकर्मी गणेश पाण्डेले फेसबुकमा लेखेका छन्ः
किलो किलो सुन भित्र्ने एयरपोर्टमा अवैध धन्दा रोक्ने प्रयास सरहानीय छ। तर, विदेशमा रगत बगाएर फर्किएका मजदुरको झोला खोस्नु राम्रो भएन सरकार ।
@sanjudidi ट्वीटरमा लेख्छिनः
एअरपोर्टमा अझै कडाइ गर्नुपर्छ
अरबबाट आएका मजदुरले परिवारका सदस्यलार्इ ल्याइदिएको एकथान मोबाइल, दुई प्याकेट चक्लेट र जडौरी कपडा मात्र हैन दैनिक बाकसमा आउने लास पनि लिलामीमा राख्नु पर्छ बल्ल मज्जाले राजस्व उठ्छ, भन्सार लक्ष्य सफल हुन्छ ।
यो पनि पढ्नुहोस् आन्तरिक रोजगारी प्रवद्र्धनको अग्नि परिक्षाः प्रधानमन्त्री रोजगार कार्यक्रम