
काठमाडौं, माघ १५-
बैदेशिक रोजगारमा रहेका व्यक्तिलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा आगामी साउन १ गते देखि संलग्न गराउने प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित एक कार्यदलले सुझाव दिएको छ । मन्त्रालयका सचिव महेश दाहाल संयोजकत्वको कार्यदलले आफ्नो सुझाव आज श्रम मन्त्री गोकर्ण विष्टलाई हस्तान्तरण गर्यो ।
कार्यदलले बैदेशिक रोजगारमा रहेकाहरुलाई विदेशमा कमाएको केहि रकम बचत गर्न तथा सामाजिक सुरक्षा कार्यक्रममा संलग्न गराउन केहि सुझाव दिएको छ । कार्यदलले नेपालबाट श्रम स्वीकृति प्राप्त गरी नेपाल सरकारले बैदेशिक रोजगारका लागि खुल्ला गरेका मुलुकहरुमा रोजगारीका लागि गएका श्रमिकलाई यो योजनामा संलग्न गर्न सुझाव दिएको छ । विदेशमा व्यापार व्यवसाय गरेर बसेका नेपालीहरु तथा गैर आवासिय नेपालीलाई पनि यस योजनामा सहभागि गराउन सुझाव दिएको छ ।
योजना सुरु गर्दा नमुनाका रुपमा बैदेशिक रोजगारमा धेरै व्यक्ति भएका मुलुक मध्येबाट उपयुक्त मुलुक छनौटगरी कार्यक्रम सुरु गर्न सुझाव दिइएको छ । यो योजना सुरु गर्दा योजना सुरु हुनुपूर्व जानेहरुलाई योजनामा सुचिकृत गरेर मात्र विदेश पठाउने तथा रोजगारीको क्रममा विदेशमा रहेकाहरुलाई पुनः श्रमस्वीकृति लिंदा तथा सम्वन्धित मुलुकमा रहेको नेपाली नियोग मार्फत सहभागि गराउने प्रस्ताव गरिएको छ ।
योजनामा सहभागि हुनेहरुले बार्षिक न्यूनतम रु २४ हजार(प्रति महिना २ हजार) तथा अधिकतम रु ३ लाखसम्म जम्मा गर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यस्तो रकम कर्मचारी सञ्चय कोषले बैंक वित्तिय कम्पनीहरुसँग समन्वय गरेर मुलुक भित्रिने व्यवस्था मिलाउन सुझाव दिइएको छ । कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक तथा मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदलले योगदानको रकम सम्वन्धित रोजगारदाताहरुबाट नै जम्मा गरि िदने व्यवस्था गर्न नेपालले नेपाली श्रमिकको गन्तव्य मुलुकहरुसँग द्धिपक्षिय श्रम सम्झौतामा नै यो विषय समावेश गर्न सुझाव दिइएको छ ।
यसरी रकम जम्मा गर्नेहरुलाई नेपालमा रहेका परिवारका कम्तीमा एकजना सदस्यको स्वास्थ्य वा दुर्घटना बीमा गरिदिन सुझाव दिइएको छ । यसैगरी कोषमा जम्मा भएको रकमबाट कुनै काम गर्न ऋण लिने भएमा सञ्चयकोषको नियम अनुसार ऋण लिन पाउने व्यवस्था गरिएको छ ।
सुझाव प्रतिवेदन बुझ्दै श्रम मन्त्री गोकर्ण विष्टले जवानी र स्वस्थ जीवन विदेशी भूमिमा विताउन बाध्य भएर उमेर ढल्केपछि स्वदेश फर्किने नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन यस्तो कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले यस्तो कार्यक्रमले विदेशमा कार्यरत नेपालीलाई समेत नेपालको सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने भन्दै यसलाई लागु गर्न आवश्यक सम्पूर्ण प्रवन्ध मिलाइने विश्वास दिलाए ।
मन्त्री विष्टले यो चुनौतिपूर्ण काम भएपनि यसलाई लागु गर्न आवश्यक व्यवस्था मिलाउन संसदीय समिति, अन्य मन्त्रालयहरुसँग परामर्श गरेर मन्त्री परिषदमा यो सुझाव अनुरुपको प्रस्ताव लैजाने बताए । सरकार रोजगारीको नाममा जाने कुनै पनि नेपालीले दुःख नपाउन् भन्नेमा सजग रहेको भन्दै सोही अनुरुप आफूले काम गरिरहेको धारणा राखे ।
यो पनि पढ्नुहोस् मलेसियामा २ हजार नेपाली आन्दोलनमा (भिडियो)