
काठमाडौं, माघ १४-
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा रोजगारदाता समावेश नभइ सुखै नभएको बताएका छन् । उनले सरकार, रोजगारदाता तथा श्रमिक तीनवटै पक्षको सहकार्यमा आएको सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सहभागि हुन सम्पूर्ण रोजगारदातालाई आग्रह पनि गरेका छन् ।
सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका २ सय ७२ रोजगारदातालाई सुचिकरणको प्रमाणपत्र वितरण गर्दै मन्त्री विष्टले यस कार्यले नेपालमा सवै पक्षलाई एउटा महत्वपूर्ण अवसर सिर्जना भएको बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकलाई सुरक्षा प्रदान गर्ने र उद्योगि व्यवसायीलाई ढुक्कले लगानी गर्ने वातावरण निर्माण गरेको बताए । उनले सुरुवाती चरणमा सुचिकरणमा आएका रोजगारदातालाई सम्मान गरिएको भन्दै आगामी तोकिएको दिन भित्रै बाँकी रोजगारदाता पनि सुचिकृत हुने अपेक्षा प्रकट गरे ।
नेपालका लागि यो कार्यक्रम नौलो रहेको भन्दै उनले सामाजिक सुरक्षा कार्यक्रमले रोजगारदातालाई त्रासरहित भएर काम गर्ने वातावरण तयार हुने धारणा राखे । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न केहि दिनभित्रै थप कर्मचारीहरु भर्ना गर्ने तयारी रहेको जानकारी दिए ।
कार्यक्रममा मन्त्री विष्टले सुचिकरणमा आवेदन दिएर सुचिकृत भएका रोजगारदाताहरुलाई प्रमाणपत्र प्रदान गरे ।