दुई हप्ताको तालिम नै रोजगारीका लागि पर्याप्त

 

काठमाडौं, माघ १०-

पछिल्ला केहि बर्षयता नेपालमा कफी खाने संस्कृति बढ्दै गएको छ । मुख्य शहरहरुमा क्याफेहरु बढ्दै गएका छन् । क्याफेहरुको संख्यात्मक बृद्धिसँगै यस क्षेत्रमा रोजगारीको अवसरमा पनि बृद्धि भएको छ । सीप दक्षतायुक्त जनशक्तिको मागमा बृद्धि भएसँगै क्याफेहरुमा रोजगारी पाइने एउटा सीप हो बरिस्ताको ।    

मिरा राई बरिस्ताकी प्रशिक्षक हुन् । उनी काठमाडौंस्थीत ईटालियन एक्सप्रेसो एकेडेमी नेपालमा बरिस्ताको प्रशिक्षकका रुपमा कार्यरत छन् । प्रशिक्षक राईसँग गरिएको कुराकानीको केहि अंश । 

बरिस्ताको तालिममा पछिल्लो समयमा युवाको आकर्षण कत्तिको बढेको छ ?

– तीनचार बर्षयता कफी उद्यममा ठूलो क्रेज बढेको छ । कफि पिउनेको संख्या पनि एकदमै बृद्धि भएको छ । युवाका लागि बरिस्ता रोजगारीको लागि राम्रो विकल्प भएको कारणले गर्दा यसका निक्कै आकर्षण छ । बरिस्ताको तालिम लिन धेरै समय लाग्दैन । दुई हप्ता तालिम लिएर कुनै क्याफेमा निरन्तर रुपमा काम गर्न थाल्नुभयो भनें आफ्नो सीपलाई निखार्न सक्नुहुन्छ । त्यसैले मध्यमवर्गिय परिवारको व्यक्तिलाई आयआर्जनका लागि यो उपयुक्त विषय हो ।

यो तालिममा मुखयगरी के कुराहरु सिकाउनुहुन्छ ?

– हाम्रो एक्सप्रेसो मेसिन हुन्छ, त्यो मेसिनलाई चलाउन चाहिने ज्ञान सिकाउँछौं । एक्सप्रेसो संस्कृति अहिले विश्वव्यापी रुपमा चलिरहेका कारण हामी एक्सप्रेसो मेसिनबाट कसरी तातो कफी, चिसो कफी र विभिन्न वास्नायुक्त कफी कसरी बनाउने भन्ने कुरा सिकाउँछौं । यसैगरी कफी लाते आर्ट जसले कफीमा विभिन्न प्रकारका बुट्टाहरु बनाइन्छ, त्यो कुरा पनि सिकाइन्छ । यसैगरी बरिस्ता भएपछि एउटा एक्सप्रेसो बारलाई कसरी सफा राख्ने भन्ने कुरा सिकाईन्छ ।

 

यो तालिममा कस्ता खालका मान्छेको आकर्षण बढी देखिन्छ ?

– बरिस्ताको तालिम पछि रोजगारीको अवसर धेरै हुने भएका कारण कुनै रोजगारी नभईकन बसिरहेका व्यक्तिहरु आउनुहुन्छ । किनकी यो तालिम लिएपछि आफैंले पनि कुनै व्यवसाय सुरु गर्न सकिन्छ । यसैगरी अन्य क्याफेहरुमा पनि रोजगारी गर्न सकिने भएका कारण पनि त्यस्तो उद्धेश्यका साथ पनि कतिपय आउने गर्नुहुन्छ । साथै कोहि व्यक्ति विदेश जाँदै हुनुहुन्छ भनें बरिस्ताको सीप लिएर जाँदा विदेशमा रोजगारी पाउन सहज हुने भएका कारण त्यस्ता व्यक्तिहरु पनि आउने गर्नुहुन्छ तालिममा ।

जसले बरिस्ताको तालिम लिनुहुन्छ, त्यस्ता व्यक्तिका लागि रोजगारीको अवसर चाहिं के साँच्चै धेरै छ ?

– नेपालमा नै बसेर काम गर्न चाहनेहरुका लागि पछिल्लो समयमा नेपालमा एकदमै धेरै क्याफेहरु खुल्ने क्रम छ । तपाईले हेर्नुभयो भनें धेरै रेष्टुरा, क्याफेहरुमा बरिस्ताको आवश्यकता भन्ने सुचना देखिन्छ । त्यसैले अन्य क्षेत्रको तुलनामा बरिस्ताको दुई हप्ताको यो तालिम पश्चात स्वदेशमा नै रोजगारीको अवसर धेरै देखिन्छ ।

काठमाडौं बाहिरका शहरमा चाहिं रोजगारीको अवसर कत्तिको छ ?

– हाम्रो तालिम केन्द्रमा झापा, पोखरा लगायतका ठाउँबाट पनि विद्यार्थीहरु आइरहनु भएको छ । ति ठाउँमा काठमाडौंबाट एक्सप्रेसो मेसिन पनि विक्रि भइरहेको छ । त्यसैले पोखरा, चितवन, झापा लगायतका शहरहरुमा पनि यसको सम्भावना राम्रो छ ।

बैदेशिक रोजगारमा जानेहरु जो खाडी मुलुक वा मलेसिया जस्ता देश जान चाहन्छन्, उनीहरुलाई यो तालिमले कत्तिको सहयोग गर्छ ? तपाईहरुसँग त्यस्ता व्यक्तिहरु आउँछन् ?

– खाडीका मुलुकहरुमा पनि कफीको खपत ठूलो छ । त्यसैले ति मुलुकमा रोजगारीका लागि जानेहरुले बरिस्ताको तालिम लिएमा धेरै शारीरिक परिश्रम गर्नु नपर्ने भएका कारण यो उपयुक्त काम हो । तलव पनि राम्रो हुने र काम पनि सहज हुने भएका कारण अहिले हामीसँग खाडी मुलुकम रोजगारी गर्न जान चाहनेहरु पनि उल्लेख्य संख्यामा तालिम लिन आउने गर्नुभएको छ । हामीसँग तालिम लिएर गएका व्यक्तिहरुले राम्रो आयाआर्जन समेत गरिरहनु भएको छ ।

तपाई आफैं पनि युवा हुनुहुन्छ, अहिले पनि धेरै युवा कुनै सीप विना नै बैदेशिक रोजगारीमा जाने र न्यून कमाई हुने काममा संलग्न हुने गरेका छन् । यो तालिमका लागि कुनै शैक्षिक योग्यता पनि आवश्यक पर्दछ ?

– यो तालिममा कुनै शैक्षिक योग्यता आवश्यक छैन । यो मेसिन चलाउन सिक्ने कुरा हो र विविध प्रकारका कफी बनाउन सिकाईन्छ । कसैलाई मैले त धेरै पढेको छैन, त्यसैले कुनै सीप विना नै खाडीका मुलुकमा रोजगारीका लागि जान्छु भन्ने सोच्दै हुनुहुन्छ भनें यो तालिमले तपाईलाई सहज कम र राम्रो आम्दानीको बाटो खोल्न सक्छ ।

खाडी मुलुक बाहेकको कुरा गर्दा तपाई अध्ययनका लागि कुनै मुलुक जाँदै हुनुहुन्छ भनें तपाईले आँशिक समय काम गरेर केहि रकम कमाउन पनि यो तालिम उपयुक्त हुने गरेको छ ।

रोजगारीको खोजीमा रहेका वा स्वरोजगार हुन चाहनेलाई तपाईको सुझाव के छ ?

– तपाई केहि गर्ने योजनामा हुनुहुन्छ भनें म तपाईलाई कफी उद्यम क्षेत्रमा स्वागत गर्दछु । सुरुमा बरिस्ताको तालिम लिनुस् । त्यो तालिम लिएपछि तपाईलाई रोजगारीमा जान हामी पनि सहयोग गर्दछौं ।

यदि तपाई विदेश जाँदै हुनुहुन्छ भनें यो तालिम लिएर गएपछि तपाईलाई पूर्ण समय वा आँशिक समयको काममा पनि यो सीपले मद्धत गर्दछ । त्यसैले मेरो आग्रह सीप सिक्नुस्, तपाईले सिकेको सीप खेर जाँदैन, त्यसले तपाईलाई जहाँ पुगेपनि सहयोग नै गर्दछ ।   

यो पनि पढ्नुहोस् भो, अव म विदेश जान्न 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: