
क्वालालम्पुर, माघ ८-
मलेसियामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको व्यवसायजन्य स्वास्थ्य सुरक्षामा रोजगारदाताले हालको भन्दा बढी ध्यान दिनु पर्ने भएको छ । मलेसियाले सन् १९९४ को व्यवसायजनय सुरक्षा तथा स्वास्थ्य सम्वन्धी ऐनमा मापदण्ड नपुगेमा रोजगारदातालाई हुने दण्ड जरिवानामा भारी मात्रामा बृद्धि गर्ने तयारी भएको यहाँका सरकारी अधिकारीले बताएका छन् ।
मलेसियाको अनलाइन द स्टारका अनुसार कार्यथलोमा हुने दुर्घटना तथा स्वास्थ्य समस्याको सम्भावनालाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विभागका महानिर्देशक ओमार मात पेहले बताएका छन् । हाल मलेसियामा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धि मापदण्ड पुरा नगरेमा ५० हजार रिंगिटसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यसमा उल्लेख्य बृद्धि हुने ओमारले बताएको समाचारमा जनाइएको छ ।
सो नयाँ ऐन आगामी मार्च महिनामा संसदमा प्रस्तुत हुँदैछ । सो ऐनमा परियोजना सञ्चालकहरु तथा त्यसको डिजायन गर्नेहरुलाई कार्यथलो सुरक्षित बनाउने विषयमा जिम्मेवार बनाइएको छ । हालको कानूनले परियोजना सञ्चालक तथा डिजायनरहरुलाई यसमा जिम्मेवार बनाउँदैन । ओमारले परियोजनाको डिजाइनको चरण देखि नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको विषयमा योजना बनाइनु आवश्यक रहेको भन्दै यसले सम्भावित जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यो पनि पढ्नुहोस् कलिङ भिसाको विवरण माग्यो बैदेशिक रोजगार विभागले