मलेसियाको रोजगारीः नयाँ प्रकृया सुरु भएपछि पहिलो लटमा कलिङ भिसाका कामदार   

काठमाडौं, माघ ७-

मलेसियामा नेपाली श्रमिक जाने नयाँ प्रकृया सुरु भएपछि मात्र यसअघि कलिङ भिसा प्राप्त गरेकाहरुलाई पठाउने श्रम मन्त्रालयले योजना बनाएको छ । हालकै अवस्थामा पठाउँदा टिकट खर्च स्वयं श्रमिकले नै व्यहोर्नु पर्ने भएका कारण नयाँ प्रकृया सुरुवातका लागि पर्खिइएको श्रम मन्त्रालयले प्रष्ट पारेको छ । नयाँ प्रकृया सुरु हुने वित्तिकै पहिलो लटमा उनीहरुलाई पठाउने मन्त्रालयले जनाएको छ । 

आइतवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुसँगको मन्त्रालयमा भएको छलफलका क्रममा श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग श्रम समझदारी कार्यान्वयनका विषयमा निरन्तर संवादमा रहेको भन्दै त्यो छिट्टै कार्यान्वयनमा आउने विश्वास प्रकट गरे ।

कलिङ भिसा प्राप्त गरेकाहरु मलेसिया जान नपाएका कारण समस्या भएको बारेमा साँसदहरुले राखेको जिज्ञासामा मन्त्री विष्टले यसका बारेमा मलेसियाली पक्षसँग कुराकानी भएको र नयाँ समझदारी कार्यान्वयन सुरु हुने वित्तिकै पहिलो लटमा उनीहरुलाई नै पठाउने तयारी भएको बताए । समितिका सदस्यहरुलाई मन्त्री विष्टले यो त्यति धेरै चिन्ताको विषय नभएको भन्दै यो केहि व्यवसायीहरुले चलाएको हल्ला मात्र धेरै भएको बताए । 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसियाको कलिङ भिसा प्राप्त गरेका ११ हजार नेपाली मलेसिया जान रोकिएका छन् । संघले उनीहरुलाई रोकिंदा स्वयं कामदारहरु समस्यामा परेको, उनीहरु पुनः मलेसिया जान नपाउने गरी कालोसूचिमा पर्ने लगायतका तर्क गर्दै उनीहरुका लागि जाने बाटो खोलिदिन सरकारसँग माग राख्दै आएको छ । तर मन्त्रालयले भनें कलिङ भिसा प्राप्त गरेकाहरु मलेसिया जान भएको ढिलाइका बारेमा मलेसियाली पक्षसँग यसअघि नै कुरा भइसकेको र व्यवसायीले भने झैं समस्या नहुने बताउँदै आएको छ । 

छलफलमा घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने विषयमा मन्त्रालयले तयार पारेको केहि मापदण्डका बारेमा मन्त्रालयका तर्फबाट प्रस्ताव गरिएको थियो । छलफलमा सहभागि एक साँसदका अनुसार केहि साँसदले बलियो मापदण्ड नबनाई खोल्दा पुनः समस्या आउनसक्ने तर्फ सचेत गराएका थिए । केहिले भिसाको आधारमा पुनः श्रम स्वीकृति दिन सुझाव दिए भनें केहिले गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासको सिफारिस पत्रलाई अनिवार्य बनाउनु पर्ने बताएका थिए ।

यसैगरी सो अवसरमा सरकारले दिन लागेको सहुलियत व्याजदरको ऋण भारतको रोजगारीबाट फर्केकाहरुलाई पनि कसरी दिन सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

यो पनि पढ्नुहोस् कलिङ भिसाको विवरण माग्यो बैदेशिक रोजगार विभागले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: