काठमाडौं, पुष २२-
बैदेशिक रोजगारबाट फर्केकाहरुमा सहुलियत व्याजदरको १० लाख ऋण लिन जुन रुपमा हुटहुटी देखिएको छ, सीप प्रमाणिकरणमा उनीहरु पूरै उदासिन देखिएका छन् । सरकारले वाणिज्य बैंकहरु मार्फत सहुलियत व्याजदरमा ऋण दिने घोषणा गरेसँगै बैदेशिक रोजगारबाट फर्केकाहरुको फारम भर्ने चाप धेरै देखिएको हो ।
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले फारम संकलन गरी श्रम मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाउन निवेदन संकलनको काम सुरु गरेपछि फारम भर्नेहरुको ठूलो ताँती लाग्न थालेको छ । बानेश्वरस्थीत बोर्डको कार्यालयमा देखिएको भिडले ऋणको माग गर्ने चापलाई प्रष्ट पारिरहेको छ ।
बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार विहिवारसम्ममा ५ हजार ४ सय व्यक्तिले ऋणका लागि फारम भरिसकेका छन् । श्रेष्ठले कतिपयलाई अहिले पनि सरकारले ऋण दिने भन्ने भ्रम रहेको भन्दै सो ऋण वाणिज्य बैंकले दिने र बोर्डले निवेदन लिन सहजिकरण मात्र गरेको प्रष्ट्याए ।
एकातिर ऋण लिन चाहनेहरुको फारम भर्न ठूलो लाम बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा लागिरहँदा सीप परिक्षणका लागि भनें बैदेशिक रोजगारबाट फर्केकाहरुमा कुनै रुचि देखिएको छैन । बैदेशिक रोजगारबाट फर्केकाहरुलाई निःशुल्क सीप परिक्षणको व्यवस्था बोर्डले मिलाएको भएपनि हालसम्म त्यसका लागि झण्डै १ सय व्यक्तिले फारम भरेका छन् ।
यसबर्ष १ हजार व्यक्तिको सीप परिक्षण निःशुल्क गराइदिने योजनामा रहेको बोर्डले आवश्यक संख्यामा आवेदन नपरेपछि फारम भर्ने म्याद बढाएर पुष मसान्तसम्म पुर्याएको छ । यसअघि फर्म भर्ने म्याद पुष ११ सम्मलाई तोकिएको थियो ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि १० लाख ऋण: के कुरा थाहा पाउन जरुरी छ ?
