
काठमाडौं, पुष २१-
पछिल्लो समय देशका धेरै युवा रोजगारका लागि विदेश जाने गरेका छन् । स्वदेशमा रोजगारीका अवसर नहुँदा पारिवारिक घरखर्च चलाउन युवाहरू विदेश जाने क्रम बढेको हो । तर, म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका ४१ बर्षिय योगेन्द्र जुग्जालीले भने गाउँमै व्यावसायिक च्याउ खेती गरेर नमूना कृषकको परिचय दिएका छन् । दुई वर्षदेखि योगेन्द्र जुग्जालीले व्यावसायिक च्याउसँगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका हुन् ।
धान, मकै र कोदोमा सिमित बारीलाई परिवर्तन गर्दै उनले घरवरिपरिको २८ रोपनी बारीमा च्याउ, तरकारी तथा फलफूल खेतीसँगै बाख्रा र भैंसीपालन गर्दै आएका छन् । विभिन्न देशमा रोजगारी गर्ने क्रममा कोरियामा एक हप्ता विताएका जुग्जालीले कोरियालीले गरेको मेहनत देखेर गाउँमै आएर व्यावसायिक खेती गरेको बताए ।
डेढ वर्षदेखि सात वटा प्लास्टिक टनेलमा कन्या च्याउ लगाएर ६ हजार किलो च्याउ उत्पादन गरेर २ सय ५० रूपैयाँका दरले बेच्दै आएको उनले बताए । च्याउ खेती उनको जिल्लाकै ठूलो खेती हो । उनी व्यावसायिक खेतीमा २०७४ सालदेखि जमेका हुन् । उनले उत्पादन गरेको च्याउ दरवाङ, तातोपानी कुण्ड र सदरमुकाम बेनीमा बिक्री हुँदै आएको छ ।
उनले धौलागिरि मसरुम फर्म दर्ता गरेर च्याउसँगै व्यावसायिक तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । च्याउखेतीसँगै एउटा माछापोखरीमा माछापालन, तीन वटा टनेलमा गोलभेंडा, तरकारीमा साग, काउली, अदुवा, खुर्सानीलगायतका खेती उनले गर्दै आएका छन् भने ४० बोट सुन्तलासमेत लगाएका छन् ।
उत्पादित तरकारी घर नजिक पुगेको सडकमार्फत् विभिन्न गाउँमा माग अनुसार बिक्री गर्दै आएका छन् । मलका लागि भैंसीसँगै २० वटा बाख्रा उनले पाल्दै आएका छन् । मौरीपालनलाई विस्तार गर्न सुरु गरेका छन् । व्यवसायबाट बार्षिक १२ लाख कारोबार हुने गरेको बताउने जुग्जालीले खर्च कटाएर ४ लाख आम्दानी भएको बताए ।
जिल्लामै नमूना कृषकको परिचय बनाएका जुग्जालीको व्यवसायलाई श्रीमती चनदेवी जुग्जालीले साथ दिएकी छन् । उनले एक जना युवालाई रोजगारीसमेत दिएका छन् । जिल्ला कृषि अनुसन्धान केन्द्रबाट तालिम प्राप्त गरी व्यावसायिक च्याउ खेतीमा लागेका उनले अहिले च्याउको व्यवहारिक विज्ञयता हासिल गरेका छन् ।
उनलाई व्यावसायिक च्याउ खेतीमा पराल काट्ने मेसिनको अभाव छ । कृषिको सम्भावना भएको गाउँपालिकामा व्यवस्थित र व्यावसायिक कृषि योजना कार्यान्वयन गर्नुपर्ने माग उनले गरेका छन् । यो समाचार कारोवार दैनिकमा धिरन खत्रीले लेखेका हुन्)