कामदारको विषयमा छलफल गर्न जापानी टोली आउने

काठमाडौं, पुष १२-

श्रमिकको चर्को अभाव खेपिरहेको जापानले आप्रवासी कामदार लिने पारित गरेसँगै त्यसका बारेमा छलफल गर्न जापानी टोली नेपाल आउने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार चाँडै (आउँदो जनावरीभित्र) जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली श्रमिकलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका छन् । उनले सोही क्रममा जापानले नेपाली श्रमिक कति लैजान्छ भन्ने कोटाको विषयमा पनि टुङ्गो लाग्ने जानकारी दिए 

जापान सरकारले मङ्गलबार गरेको निर्णय अनुसार नेपालसहित विभिन्न नौवटा देशबाट पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिए पनि नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । सचिव दहालले जापानले नेपाली श्रमिकलाई पनि लिने निर्णय गरेसँगै नेपाली श्रमिकलाई बढीभन्दा बढी अवसर दिने गृहकार्यमा जुटेको बताएका छन् ।

जापान मन्त्रिपरिषद्को मङ्गलबार बैठकले विदेशी श्रमिक लिने निर्णय गर्दै नेपाली आप्रवासी श्रमिकको सहजीकरणको निम्ति नेपाली भाषा जानेको व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने जनाइएको छ । जापान कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इण्डोनेसिया लगायतका नौ देशका दक्ष नागरिकलाई अवसर दिने बताएको छ ।

जापान सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विदेशी श्रमिकले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । जसअन्तर्गत नर्सिङ, केयरगिभर, होटल, निर्माण, कृषिलगायतका क्षेत्रमा विदेशी श्रमिक माग भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

जापानले आउँदो चैततिर नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिने योजना अगाडि सारेको छ । जापानको नयाँ नीति अनुसार १८ वर्षभन्दा माथिका श्रमिक रोजगारीका लागि योग्य हुने छन् । अहिले नेपाली श्रमिकले जापानमा प्रशिक्षकका हैसियतमा मात्र काम गर्दै आएकोमा अब श्रमिक भएर गई काम गर्न पाउने छन् । नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भइसकेकोले पनि अब श्रमिक लिँदा भने छुट्टै सम्झौता गरेर नेपाली लैजाने सचिव दाहालको भनाइ छ । उनले कस्तो मोडेलमा जापानले श्रमिक लिदैछ भन्ने विषयमा टुङ्गो नलागेकाले अहिले नै यहीँ मोडेल भन्न नसकिने बताए ।

केहीअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानका समकक्षीको भेटका क्रममा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेअनुरूप नै जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । गोरखापत्रबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: