
काठमाडौं, पुष १०-
कामदारको अभाव खेपिरहेको जापानमा अदक्ष कामदार भित्रियाउने बाटो खुलेको छ । आगामी अप्रिलदेखि ठूलो संख्यामा अदक्ष कामदारका लागि जापान खुल्ला हुने अपेक्षाका बीच जापानको मन्त्रीपरिषदले मंगलवार यससम्वन्धि प्याकेजलाई स्वीकृत गरेको छ । जापानले नेपालसँगै चीन, ईण्डोनेशिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स तथा भियतनामका श्रमिक लिने भएको हो ।
जापान टाइम्सका अनुसार गैर जापानी नागरिकका लागि जापानी भाषा पढाउन समेत जापान सरकारले बजेट छुट्याएको छ । योसँगै जापान सरकारले रोजगारीका लागि आउने आप्रवासी कामदारलाई हुनसक्ने ठगि नियन्त्रण गर्न कडा नीति पनि अवलम्वन गर्ने जनाएको छ । हालै संशोधन गरिएको जापानको अध्यागमन कानूनले आप्रवासी कामदारलाई वर्किङ भिषा उपलव्ध हुनेछ । जापानमा दोश्रो विश्वयुद्ध पछि पहिलो पटक यस्तो व्यवस्था गरिएको हो । यसअघि विशेषज्ञता तथा विशेष सीपमा दक्षता भएका विदेशीले मात्र जापानमा रोजगारी पाउने गर्दथे ।
पहिलो ५ बर्षमा ३ लाख ४५ हजार विदेशी श्रमिकले १४ वटा औद्योगिक क्षेत्र सहित होटल, कृषि, मत्स्य उद्योग लगायतमा रोजगारी गर्नेछन् । मन्त्रीपरिषदले विशेष प्याकेजलाई स्वीकृत गर्दै बजेट समेत स्वीकृत गरेपछि अव अदक्ष काममा पनि विदेशी कामदार जापा जाने बाटो खुलेको हो ।