काठमाडौं, मंसीर २३-
बैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका व्यक्तिहरुले आफूले सिकेको सीप परीक्षण गराई सीप आर्जनको प्रमाणपत्र लिन चाहेमा सम्वन्धित सीपको निःशुल्क परिक्षण गराउने व्यवस्था सरकारले गरेको छ ।
यसका लागि सरकारले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई सचिवालय तोकेको छ र बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र, सिटटिईभीटीको राष्ट्रिय सीप परिक्षण समितिसँग मिलेर सो काम गर्न लागेको छ ।
सीप परिक्षण गराउन चाहने व्यक्तिले आउँदो पुष ११ गते भित्र फारम संकलन केन्द्रहरुमा आईपुग्ने गरी निवेदन दिनुपर्छ । फारम भर्न चाहनेले फारमको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्वदेश फर्किदा अध्यागमनबाट छाप लागेको पाना सहित पासपोर्टको प्रतिलिपी बुझाउनु पर्छ ।
यसैगरी निवेदनका साथमा बैदेशिक रोजगारमा गएको प्रमाणित हुने अरु कागजात अनी हालसालै खिचेको पासपोर्ट साइजको दुईवटा फोटो आवश्यक पर्दछ ।
बैदेशिक रोजगारबाट फर्केकाहरुले कुन-कुन सीप परिक्षण गराउन पाउँछन् त ?
बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि बिल्डीङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्वर, स्काप फोल्डर, सटरिङ कापेन्ट्रीको सीप परिक्षण गराउन सकिन्छ ।
यसैगरी स्टोन लेयर मेसन अर्थात डकर्मी, बिल्डिङ ईलेक्ट्रीसियन, ईन्डस्ट्रीयल ईलेक्ट्रीसियन, असिष्टेण्ट व्यूटीसियन र असिष्टेण्ट वेटरको पनि सीप परिक्षण गराउन सकिन्छ ।
यसैगरी केयर गिभर, कमि तेश्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर अनी आल्मुनियम फेव्रिकेटरको पनि सीप परिक्षण हुँदैछ ।
बैदेशिक रोजगारमा सिकेको रेफ्रिजेरेशन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स, सेक्यूरीटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर अनी स्ट्रक्चरल फेव्रिकेटरको पनि सीप परिक्षण गर्न सकिन्छ ।
फारम बुझाउन १९ वटा जिल्लाका २० वटा संस्थाहरु तोकिएका छन् । त्यसैले आफ्नो जिल्लामा त्यस्तो फारम बुझाउन सकिने संस्था छ की छैन भनेर बुझ्न कुनै सरकारी प्रविधिक केन्द्र भएमा त्यहाँबाट र त्यो नभएमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेभसाइट www.fepb.gov.np मा राखिएको फारम हेरेर जानकारी लिन सक्नुहुन्छ ।
बैदेशिक रोजगारबाट फर्केकाहरुको सीप परिक्षणका लागि कुनै शुल्क तिर्नुपर्दैन । त्यसैले फारम भर्दा पनि कुनै शुल्क नबुझाई फारम भर्न सक्नुहुन्छ । एकजनाले एउटा मात्र पेशामा सीप परिक्षण गराउन फारम भर्न पाउने व्यवस्था सरकारले मिलाएको छ ।
यस आर्थिक बर्षमा एक हजार व्यक्तिको लागि निःशुल्क सीप परिक्षणको व्यवस्था मिलइएको र त्यो भन्दा धेरै आवेदन परेमा श्रोतको व्यवस्थापन भएपछि थप व्यक्तिको सीप परिक्षण हुने बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
थप कुनै जानकारी चाहिएमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ०१ ४१० ५० ६८ मा फोन गरेर सोध्न आग्रह गरेको छ । तपाई बैदेशिक रोजगारमा गएर फर्किनु भएको हो र सीप परिक्षण गराउन ईच्छुक भएमा यो तपाईका लागि राम्रो अवसर हुनसक्छ ।
यो सामग्री हरेक शनिवार विहान ८ः१५ देखि ९ बजेसम्म प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको हो ।
यो पनि पढ्नुहोस् आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य
